
बेरुत– सिरियाली सरकारी फौज र जिहादी समूहबीच उत्तरपश्चिम सिरियामा भएका पछिल्ला भिडन्तमा कम्तीमा ४५ जना हतियारधारीको मृत्यु भएको छ ।
हामा प्रान्तमा हायात तहरिर अल–शाममा आबद्ध लडाकूहरूले मंगलवार बिहानै सरकारी फौजमाथि आक्रमण गरेको सिरियाली मानव अधिकार अब्जरभेटरीले जनाएको छ ।
भिडन्तमा सरकारी फौजतर्फ कम्तीमा १४ जनाको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।
अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले सरकारी फौजले विद्रोहीको आक्रमणलाई निस्तेज बनाएको जानकारी दिए ।
उत्तरी हामा र छिमेकी इडलिब प्रान्तमा सरकारी फौजबाट हुने हवाइ आक्रमण २४ घण्टायता रोकिएका थिए । तर सरकारी फौजमाथि आक्रमण भएलगत्तै हवाइ आक्रमण शुरू भएका छन् ।
हवाइ आक्रमणबाट दक्षिणी इडलिबमा एक जना नागरिकको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।
गत आइतवार अलेप्पोमा सरकारी फौजको नियन्त्रणमा रहेको क्षेत्रमा हप्तार विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणबाट १२ जनाभन्दा बढी नागरिकको ज्यान गएको थियो ।