०४ असार २०८३, बिहीबार

लहानको फोहर १ महिनापछि उठ्यो

लहानको फोहर १ महिनापछि उठ्यो
प्रतिकात्मक तस्वीर

लहान – लहान नगरपालिका र स्थानीयबीच ३ बुँदे सहमति भएपछि १ महिनादेखि रोकिएको फोहर उठाउने कार्य शुरू भएको छ । 

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको पहलमा मंगलवार भएको सर्वपक्षीय बैठकमा लहान नगरपालिका–४ का स्थानीयले हाल रहेको डम्पिङसाइट नजिकै खाल्डो खनेर फोहर नष्ट गर्न दिने सहमति दिएपछि फोहर उठाउने कार्य शुरू भएको हो ।

फोहर व्यवस्थापनका लागि लहान नगरपालिकाले विकल्प खोज्ने र विकल्प नहुञ्जेलसम्म हाल वडा नम्बर ४ स्थित डम्पिङसाइट नजिकै रहेको दुमुहानमा खाँल्डो खनेर फोहर नष्ट गर्ने सहमति भएपछि फोहर उठ्न थालेको लहान नगरपालिका–७ का वडाध्यक्ष तथा समस्या समाधान कार्यदलका सदस्य राकेश गुप्ता रोशनले जानकारी दिए ।

विगत १ महिनादेखि लहान नगरपालिकाले वडा नम्बर ४ का स्थानीयको अवरोधलाई कारण देखाउँदै लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डंगुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको थियो । लहानस्थित गुदरी बजार, शिव मन्दिर, साप्ताहिक हाटबजार, सवारीसाधन पार्किङस्थल र सडक छेउछाउमा फोहरको डंगुरले सर्वसाधारण नाक थुनेर हिँड्न् बाध्य भएका थिए ।

गत वैशाख ३१ गते नगरपालिकाका सरसफाइ कर्मचारी फोहर व्यवस्थापन गर्न केन्द्रमा स्थानीयवासीले आफूहरुको स्वास्थ्यमा समस्या भएको भन्दै फोहर फाल्न अवरोध गरेका थिए । त्यसपछि कर्मचारीले बजारमा कुचो लगाउने तर फोहर नउठाउने गरेकामा गत जेठ ८ गतेबाट कुचोसमेत लगाउन छाडेपछि सडकमा फोहर थुप्रिएको थियो ।

फोहरबाट मोहर निकाल्ने नारा दिँदै विक्रम संवत् २०७१ मै उक्त फोहर व्यवस्थापन केन्द्र स्थापना गरिए पनि बजारको फोहर लगेर व्यवस्थापन केन्द्रमा जथाभावी फाल्दा दिनदिनै दुर्गन्ध बढेपछि वडावासीले अवरोध गरेको लहान नगरपालिका–४ का वडाध्यक्ष रामनाथ पण्डितको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्