
सुनसरी – जिल्ला सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ ।
इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिए ।
धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ । इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
इनरुवाको १, ३, ६, ९ र १० वडामा डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए । रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा संक्रमितको आशंका गरिएकाको वास्तविकता यकिन हुन भने सकेको छैन । स्थानीयवासीले ज्वरोपश्चात उपचारका लागि बिरामीलाई धरान र विराटनगर पुर्याइएकाले संक्रमण भएका रोगीको संख्या अधिक हुनसक्ने आकलन गरेपनि जिल्ला अस्पताल इनरुवाले भने आधिकारिकरूपमा इनरुवामा एक जनामा मात्र डेंगु संक्रमण पाइएको जनाएको छ ।
नगरपालिकाले सचेतनासम्बन्धी विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालनको तयारी शुरू गर्दै वडा नम्बर ३ र ९ मा स्वयंसेविका, आमा समूह, संघसंस्थाका पदाधिकारीलगायतको उपस्थितिमा सावधानी र सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीबाट खटिएका स्वास्थ्यकर्मीसहित सम्बन्धित क्षेत्रका जानकारले सचेतनासम्बन्धी प्रशिक्षण दिइरहेका अस्पतालले जनाएको छ ।