२१ जेठ २०८३, बिहीबार

अविरल वर्षाले ६ बस्ती पहिरो जोखिममा

अविरल वर्षाले ६ बस्ती पहिरो जोखिममा

फिदिम – निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैंचाका ६ बस्ती पहिरोको चपेटामा परेका छन् ।

उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मंगलवार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।

पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौं घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका अनुसार मंगलवार रातिदेखि नै स्थानीय सुरक्षित स्थानको खोजीमा निस्किएका छन् ।

चिङ्माका १४ घरपरिवार सुरक्षित स्थानको खोजीमा डुँडे चौर भन्ने स्थानमा पुगेको वडाध्यक्ष योङहाङले जानकारी दिए । स्थानीयका गाई तथा चौंरी गोठ पहिरोले बगाएको छ । यद्यपि क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको वडा सदस्य प्रेमबहादुर राईले जानकारी दिए ।

पहिरोका कारण यी बस्तीहरुमा सञ्चालित मेजर चिङ्मा रवि खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आयोजना अवरुद्ध भएपछि स्थानीयसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष योङहाङले जानकारी दिए । उनका अनुसार निरन्तर वर्षा भइरहेका कारण यी ६ वटै बस्तीका स्थानीय सुरक्षित स्थानका खोजीमा निस्किएका छन् ।

‘हालसम्म करीब ३० परिवार सुरक्षित स्थानको खोजीमा निस्किएको सुनिएको छ,’ योङहाङले भने, ‘निरन्तर वर्षा भए पहिरो जानसक्ने भयले स्थानीय घरबाट निस्किएका हुन् । वर्षा रोकिएमा विस्थापित हुने थिएनन् ।’

गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले च्याङथापु तथा फलैंचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको र टोली फर्किएपछि उक्त स्थानको वास्तविक अवस्था थाहा हुने बताए । उनले पहिरोको क्षति र भयबाट विस्थापित स्थानीयको अस्थायी बसोबासका लागि राहत सामग्री सदरमुकाम फिदिमबाट मगाइएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार च्याङथापु तथा फलैंचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनले पहिरोका कारण एक घर बगेको, पशुचौपाया बगाएको तथा दर्जनौं स्थानीय घर छोडेर सुरक्षित स्थानको खोजीमा लागेका छन् । घटनास्थलतर्फ गएको प्रहरी टोली घटनास्थलबाट फर्किएपछि वास्तविक अवस्था पत्ता लाग्ने पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्