
भद्रपुर – झापाको बाह्दशी गाउँपालिका– ५ का ६० वर्षीय पर्शुराम पाठकको बुधवार अपराह्न चट्याङ लागेर मृत्यु भएको छ ।
उनीसँगै रहेका ५२ वर्षीय दुर्गाप्रसाद ओली भने घाइते भएको प्रहरीले जनाएको छ ।
दुवैलाई ओलीको घरको बरण्डामा बसिरहेको अवस्थामा बुधवार ४ बजे पानीसँगै परेको चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते अवस्थामा रहेका दुवैलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याइएलगत्तै पाठकलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने ओलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
झापामा यसअघि चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका– ६ का ३२ वर्षीय भीम राजवंशीको गत वैशाख १३ गते घरमै सुतिरहेको अवस्थामा र मेचीनगर नगरपालिका– १५ का ४० वर्षीय प्रकाश बुढाथोकीको गत चैत २३ गते बिहान खेतमा मकै गोड्दै गर्दा चट्याङ लागेर मृत्यु भएको थियो ।