२३ जेठ २०८३, शनिबार

भारतको धौलीगंगा बाँध खोलियो, बाढीको जोखिमबाट सतर्क रहन आग्रह

भारतको धौलीगंगा बाँध खोलियो, बाढीको जोखिमबाट सतर्क रहन आग्रह

बैतडी – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बुधवार रातिदेखि खोलिएको छ ।

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार बुधवार राति १२ बजेदेखि बाँध खोलिएको हो । 

बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरे । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको उनले बताए ।

बाँध बिहीवार बेलुकासम्म खोलिने भएपनि शुक्रवारसम्म पनि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत अनुरोध गरिएको छ । दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले स्थानीय नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।

बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको जनाइएको छ । दार्चुलाको दत्तुमा रहेको पूर्व सूचना प्रणालीका अनुसार बिहीवार बिहान ६ बजे पानीको सतह ३.४ मिटर पुगेको थियो भने बिहान ७ः३० बजे घटेर २.८ मिटर पुगेको छ । परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

धौलीगंगा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । 

२ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । विक्रम संवत् २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षति भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्