०३ साउन २०८३, आइतबार

२ छोरी जन्मिएपछि नियोजन गर्ने दम्पती सम्मान गरिने

२ छोरी जन्मिएपछि नियोजन गर्ने दम्पती सम्मान गरिने
प्रतिकात्मक तस्वीर

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिकाले २ छोरी जन्माएपछि स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने नीति बनाएको छ ।

नगर प्रमुख टंकप्रसाद शर्माले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक अवसरमा उक्त नीति प्रस्तुत गरेका हुन् ।

‘छोराछोरी बराबरी’ भन्ने मानसिकतातर्फ उन्मुख बनाउने उद्देश्यका साथ यस्तो नीति ल्याइएको नगर प्रमुख शर्माले बताए ।

उनले भने, ‘२ छोरी जन्मिएपछि निराश बनेका परिवारलाई खुशीतर्फ परिणत गराउन चाहन्छौं, यसको विकल्पमा दम्पती सम्मान तथा केही सुविधा तय गर्नेछौं ।’

उनले महिला तथा बालालिकालाई नीतिगत नै सम्बोधन गरिएको जिकिर गरे ।

दम्पती सम्मान नीतिले ‘दुई सन्तान : वरदान’ भन्ने जनउक्तिलाई नगरवासीले आत्मसात गर्ने उद्देश्य पनि रहेको नगर प्रमुख शर्माले बताए । ‘छोराको बहानामा अर्को बच्चा जन्माउने क्रममा पुनः छोरी जन्मिँदा परिवार नै निराशाजनक अवस्थामा रहिरहने तथा केही परिवार विखण्डित भइरहेको घटना रोक्न यस्तो नीति आवश्यक थियो,’ शर्माले भने । केही दिनभित्र कार्यविधि बनाउँदा दम्पती सम्मानको सूचक तयार गरी सम्मान गर्न थालिने उनले जानकारी दिए ।

नीतिअनुसार २ छोरीका आमाबाबु सम्मान गर्न पहिलो छोरी भएको अभिलेखसमेत राखिने छ । ‘हामी स्थानीय तहमा निर्वाचित भई आएपछि २ छोरीका आमाबाबुको तथ्यांक पनि संकलन गरी सम्मान गर्छाैं,’ नगर प्रमुख शर्माले भने । उनका अनुसार सम्मान तथा सुविधाका लागि २ छोरी मात्रै भएको र श्रीमान् श्रीमतीमध्ये एकले स्थायी परिवार नियोजन गरिएको प्रमाणपत्र नगरमा पेश गर्नुपर्नेछ ।

दम्पती सम्मान कार्यविधि तयार गर्दा नगरले २ छोरीको शिक्षामा थप सुधारका लागि प्रोत्साहित गर्न सहयोग गर्ने र सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा छोरीको आमाको बीमा रकम नगरले व्यहोर्ने जनाइने छ । नगर प्रमुख शर्माले भने, ‘कार्यविधि तयार गरिसकेपछि बस्ती–बस्तीमा यससम्बन्धी चेतनामूलक कार्यक्रम पनि गर्नेछौं ।’

दम्पती सम्मान नीतिसँगै नगरका वृद्धवृद्धाको घरमै स्वास्थ्य सेवा पुर्‍याइने योजना बनाइएको छ । कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले घरमै पुगेर वृद्धवृद्धाको स्वास्थ्य जाँच तथा गम्भीर रोग देखिए उपचारार्थ सिफारिस गर्नेछन् । १ वर्षभित्र बाल श्रममुक्त नगर घोषणा गरिने नीति पनि ल्याइएको छ ।

नगरभित्रका सामुदायिक विद्यालयमा बालमैत्री कक्षा, बालविकास केन्द्रका शिक्षकलाई मनोचिकित्सा तालीम दिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगर प्रमुख शर्माले ‘कृषि, वातावरण, व्यापार, पर्यटन तथा उद्योगको विकास, सुन्दर र समृद्ध नगरपालिका निर्माण ः हाम्रो सशक्त अभियान’ भन्ने मूल नाराका साथ आउँदो आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्