२५ जेठ २०८३, सोमबार

साउदी अरब किन कसैसित पनि डराउँदैन ?

साउदी अरब किन कसैसित पनि डराउँदैन ?

काठमाडौं – संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा द वाशिङटन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी अरबका युवराज मोहम्मद बिन सलमान र उनको परिवारको हात रहेको उल्लेख गरिएको छ । 

राष्ट्रसंघले अमेरिकालाई यस विषयको अनुसन्धान एफबीआईबाट गराउन भनेको भए पनि ट्रम्पले अस्वीकार गरेका छन् । अमेरिकाले इरान समेत अन्य देशमा लोकतन्त्र र मानवअधिकारका विषयमा आक्रामक नीति अपनाएपनि साउदी अरबको कुरा उठ्दा चाहिँ चुप रहने गरेको छ । 

साउदी अरब कसैसँग पनि डराउँदैन ? साउदी अरबसँग को डराउँछ ?

यी दुवै प्रश्नको जवाफ अमेरिकालाई थाहा छ । दुई वर्षअघि साउदी अरबले कतारविरुद्ध नाकाबन्दी गरेर सबै कूटनीतिक सम्बन्ध तोडेको थियो । त्यतिखेर उसलाई पश्चिम एसिया र उत्तरी अफ्रिकाका कैयौं देशले समर्थन गरेका थिए । 

कतारले आतंकवादी गतिविधिको समर्थन गरेको आरोप साउदीले लगाएको थियो । साउदीले कतारका विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको थियो । अहिलेसम्म पनि साउदीले कतारका सबै छिमेकीबाट अलग्याएको छ । 

साउदीले पश्चिम एसियामा आफूलाई एकछत्र नेता बनाएको छ । सबै सुन्नी मुस्लिम देशले आफूअन्तर्गत काम गरे हुन्थ्यो भन्ने साउदीको इच्छा छ । 

कतारले नमानेपछि साउदीले नाकाबन्दी अहिलेसम्म लगाइरहेको छ । खासमा उसको असली निशाना इरान हो । साउदीले इरानलाई आफ्नो प्रमुख प्रतिद्वन्द्वी मान्छ । 

साउदीले पश्चिम एसियाको नेता बन्ने कोशिश गरेको भए पनि उसको हरेक कदम ब्याकफायर भइरहेको छ । साउदीको नाकाबन्दीले कतार झुकेन र उसलाई ठूलो नोक्सानी पनि भएन । तर साउदी पनि कमजोर भएको छैन । 

तेल र प्राकृतिक ग्यासबाट हुने आम्दानी साउदीलाई धनी बनाउने माध्यम भएको सबैलाई थाहा छ ।

आफ्नो धनको बलमा साउदीले ठूलो सेना पनि तयार पारेको छ । स्टकहोम इन्टरनेसनल पीस रिसर्चका अनुसार, सन् २०१७ मा साउदीले रक्षामा ७० अर्ब डलर बजेट खर्च गरेको थियो । यो रकम साउदीको जीडीपीको १० प्रतिशत हो । यसका साथै साउदी रक्षामा खर्च गर्ने संसारको तेस्रो ठूलो देश बनेको छ । 

यसबाहेक ओपेक र गल्फ कोअपरेसन काउन्सिलमा पनि साउदी अरबको राम्रो प्रभाव छ । अनि संसारको सबभन्दा बलियो देश अमेरिका पनि उसको साथी छ । 

एनबीसीलाई दिएको अन्तर्वार्तामा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदीसँग हतियारको व्यापार अमेरिकी लोकतन्त्र र मानवअधिकारभन्दा बढी महत्त्वपूर्ण छ । ट्रम्प अमेरिकालाई फेरि महान् बनाउन चाहन्छन् र यसका लागि व्यापारमा जोड दिन्छन् । जमाल खशोग्गीको हत्याभन्दा बढी महत्त्वपूर्ण उनका लागि साउदीसँगको हतियार सम्झौता हो । 

आलोचकहरूका अनुसार, अमेरिकाका राष्ट्रपति ट्रम्प मानवअधिकारको पैरवी गर्ने छविलाई त्याग्न चाहन्छन् । उनी साउदीसँगको सम्बन्धमा खलल ल्याउन चाहँदैनन् । त्यसो त अमेरिकाले मानवअधिकारको पैरवी गर्ने काम धेरै अघि नै त्यागिसकेको छ । 

युवराज सलमानले साउदीमा मानवअधिकार अभियन्ता, महिला अधिकारका लागि लड्ने महिला तथा वकिल आदिलाई पक्राउ गरेर जेलमा कोच्दा ट्रम्पले पहिलेका राष्ट्रपति झैं आपत्ति उठाएनन् । 

साउदी पत्रकार जमाल खशोग्गीलाई टर्कीस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरियो र साउदीले हत्या कबुल्यो पनि । तैपनि अमेरिका रिसाएको छैन ।

विगत तीन वर्षमा हाउस अफ साउद र ह्वाइट हाउसबीच सम्बन्ध बढेको छ । ट्रम्पका ज्वाइँ ज्यारेड कुशनर र साउदीका युवराज मोहम्मद बिन सलमानबीच गहिरो मित्रता छ । यी दुईबीच यो सम्बन्ध अमेरिकाको राष्ट्रपति चुनावका बेलामा बनेको थियो र ट्रम्प राष्ट्रपति बनेपछि झनै झांगियो ।

बिन सलमानले नै पैरवी गरेर इरानसँगको आणविक सम्झौताबाट अमेरिकालाई पछि हट्न लगाएका हुन् ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्