
काठमाडौं – चिनियाँ स्मार्टफोन निर्माता ओप्पोले स्क्रीनभित्र लुकेको सेल्फी क्यामरा प्रविधि अनावरण गरेको छ । सेल्फी क्यामरालाई छुट्टै ठाउँमा प्वाल आवश्यक पर्दैन ।
यसले स्क्रीनमा स्पेस बचाउने उद्देश्य लिएको छ । चीनको शांघाईमा भइरहेको मोबाइल वर्ल्ड कांग्रेसमा बिहीवार यो फोन देखाइएको हो ।
अन्डर डिस्प्ले सेल्फी क्यामरा पूर्णतया स्क्रीनपछाडि लुकेको छ ।
अहिलेका फोनमा नोच वा प्वालहरू राखेर तिनमा सेल्फी क्यामरा जडान गर्ने गरिन्छ ।
ओप्पोको प्रविधिले चाहिँ ट्रान्सलुसेन्ट प्यानल र प्रोसेसिङ आल्गोरिदम राखेर फोटो खिच्न मिल्ने बनाएको छ ।
स्मार्टफोन कम्पनीहरूले ह्यान्डसेटको आकार नबढाइकन डिस्प्ले स्पेसमा वृद्धि गर्ने ताजा उपायहरू अपनाइरहेका छन् । उनीहरू फोनका बोर्डर एरियालाई घटाइरहेका छन् र सेल्फी क्यामरालाई यताउता सारिरहेका छन् ।
एजेन्सी