०४ साउन २०८३, सोमबार

ट्युनिसियामा दुईवटा आत्मघाती आक्रमण, राष्ट्रपतिको स्वास्थ्यस्थिति गम्भीर

ट्युनिसियामा दुईवटा आत्मघाती आक्रमण, राष्ट्रपतिको स्वास्थ्यस्थिति गम्भीर

काठमाडौं – ट्युनिसियाको राजधानी ट्युनिसमा दुईवटा आत्मघाती आक्रमण भएको केही समयपछि देशका ९२ वर्षीय राष्ट्रपतिलाई गम्भीर स्वास्थ्य संकट देखिएपछि सैन्य अस्पताल लगिएको छ । 

राष्ट्रपति बेजी कैद एस्सेब्सी गम्भीर बिरामी भएको र उनलाई सैन्य अस्पताल लगिएको राष्ट्रपति कार्यालयले फेसबूकमा पोस्ट गरेर जानकारी दियो । 

त्यसअघि ट्युनिसमा सुरक्षा बलहरूलाई लक्षित गरी दुईवटा आत्मघाती आक्रमण भएका थिए । त्यसमा परी कम्तीमा एकजनाको मृत्यु भएको छ भने अन्य कैयौं घाइते भएका छन् । 

विस्फोटमा परी घाइते भएका सबैजनाको स्वास्थ्य स्थिर रहेको चार्ल्स निकोल अस्पतालका निर्देशकले बताए ।

आईएसले आक्रमणको जिम्मेवारी लिए पनि कुनै प्रमाण प्रस्तुत गरेन । उसले आफ्नो मिडिया संस्था अमाक न्युज एजेन्सीमार्फत यो जानकारी दिएको थियो । 

पहिलो विस्फोट ट्युनिसको मध्यभागमा भएको थियो । आक्रमणकारीले शहरको मुख्य चौबाटोमा प्रहरी गश्तीलाई तारो बनाएको थियो । 

विस्फोटमा एक प्रहरी मारिए अनि तीन सर्वसाधारण र अनेकौं सुरक्षाकर्मी घाइते भए । 

त्यसको दश मिनेटपछि शहरको एक प्रहरी चौकीमा दोस्रो बम विस्फोट भयो । 

उक्त विस्फोटमा परी कम्तीमा चार सुरक्षाकर्मी घाइते भएको र तीमध्ये दुईजनाको स्थिति गम्भीर रहेको गृह मन्त्रालयका प्रवक्ता सोफिएन जाकले बताए । 

सीएनएनबाट
 

कमेन्ट गर्नुहोस्