
वीरगञ्ज – मनसुन सक्रिय भएपनि रासायनिक मलको अभावमा पर्सा जिल्लाका किसानले अझैसम्म मल पाएका छैनन् ।
जिल्लामा धान रोपाइँका लागि २ हजार ४ सय २५ मेट्रिक टन डीएपी मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा हाल ३०० मेट्रिक टन डिएपी मौज्दात छ ।
२२ हजार ५ सय मेट्रिक टन युरिया मल आउनुपर्नेमा बिहीवारसम्म १६ हजार मेट्रिक टन मात्र युरिया आएको र उक्त मल अन्य जिल्लामा पठाउनका लागि राखिएकाले हाल युरिया मल अभाव हुन गएको सो कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा रहेको मलखाद आपूर्ति तथा वितरण व्यवस्थापन समितिले जिल्लामा धान तथा अन्नबालीका लागि चाहिने मल अभाव हुन नदिन युरिया मल ६ हजार ४०० मेट्रिक टन, डीएपी ३ हजार ७५ मेट्रिक टन तथा पोटस एक हजार ६५० मेट्रिक टन आवश्यक पर्ने भएकामा कृषि सामग्री संस्थानसँग डीएपी ४०० मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरेसनसँग २५० मेट्रिक टन गरी ६५० मेट्रिक टन मल रहेकाले आवश्यक मल आपूर्तिका लागि कृषि तथा पशुपक्षी मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको क्षेत्रीय प्रबन्धक अजयकुमार श्रीवास्तवले बताए ।
आइतवारदेखि मनसुन सक्रिय खेतमा पानी जम्न थालेकाले केही किसानले धमाधम रोपाइँ शुरू गरेपनि मलको अभावमा सबैलाई रोपाइँ गर्न गाह्रो भएको किसान शेषमन पण्डितले बताए । लिमिटेडले चालू आर्थिक वर्षमा युरिया ६ हजार मेट्रिक टन, डिएपी ६ हजार मेट्रिक टन र पोटास १५० मेट्रिक टन बिक्री गर्ने लक्ष्य रहेकामा जेठ मसान्तसम्म डिएपी पाँच हजार ४८९ मेट्रिक टन, युरिया ११ हजार २१३ मेट्रिक टन र पोटास १३८ मेट्रिक टन बिक्री गरिएको जनाएको छ ।
छिमेकी मुलुक चीन र ओमानबाट पानी जहाजमार्फत भारतको कोलकत्ता तथा हल्दीया बन्दरगाह हुँदै रेलमार्गबाट वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहसम्म मलआईपुग्न समय लाग्ने भएकाले ढिलो हुने देखिएको सो कार्यालयले जनाएको छ ।
संस्थानले माग गरेअनुसारको मल देशको विभिन्न ठाउँमा आपूर्ति गर्दै आएको छ । २२ हजार ५०० मेट्रिक टन युरिया आउनुपर्नेमा हाल १६ हजार मेट्रिक टन मात्र आएको सो मल बाहिर पठाउँदा यस जिल्लाका लागि अपुग भए पनि साउनको पहिलो सातासम्म आइपुग्ने बताइएको छ । संस्थानले जिल्लाका ९५ सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आए पनि सो मल संस्थाले कालो बजारीमा अन्यत्र बिक्री गर्ने गरेकाले मलको अभाव सिर्जना भएको सम्बद्ध किसानको गुनासो थियो ।
स्थानीय निकायले अनुगमन नगर्दा रासायनिक मल बेच्ने सहकारी संस्थाले आफूखुशी मल बाँडने गरेकाले लक्षित किसानसम्म मल पुग्न नसकेको जनाइएको छ । कृषि सामग्रीले समानुपातिक हिसाबले सहकारी संस्थालाई मल दिने गरेको जिकिर गर्दै आएको छ ।
रासायनिक मल बिना नै किसानले रोपाइँ गरेको वीरगञ्ज महानगरपालिका–१८ का किसान उमाशंकरप्रसाद कलवाले बताए । शुरूमा अत्यधिक गर्मीले लगाएको बेर्ना सुकिक्यो भने अब पानी पर्दा मलखादको अभाव भएपनि धान रोपाइँ शुरू गरेका छन् । जिल्लामा ४६ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएको छ ।