०३ असार २०८३, बुधबार

बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’

बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’

नारायणपुर – जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरूलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरू डराउँछन् ।

विक्रम संवत् २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौंको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौं मानिसले ज्यान समेत गुमाए । 

दाङको बबई नदीमा २ पटक आएको यो बाढीले २५ जनाको ज्यान लियो । ३ जना अझै बेपत्ता छन् भने कयौं घाइते भए । ९ हजार ३ सय ८५ जनाभन्दा बढी प्रभावित मात्र भए । उनीहरू बस्दै आएका करीब एक हजार ५०० भन्दा बढी भौतिक संरचनाहरु जमिनमा विलिन भए । यसले झन् गरीबी निम्त्यायो भने बालबालिकाहरुमा कुपोषण देखियो । रोजगार र बालबालिकाको शिक्षा समेत अस्तव्यस्त भए ।  

दाङमा बितेको १ वर्षमा प्राकृतिक प्रकोपमा परेर ३८ जनाले ज्यान गुमाए । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार १ वर्षमा विभिन्न विपद्मा परी ३८ जनाको मृत्यु भयो । १ वर्षमा विपद्कै कारण १ सय ७१ घरमा क्षति पुगेको छ । 

३७ वटा वडा उच्च जोखिममा

दाङमा ९ स्थानीय तहका ३७ वटा वडा बाढीको उच्च जोखिममा छन् । दाङमा २ उपमहानगरपालिका र १ नगरपालिकासहित १० स्थानीय तह छन् भने १ सय वटा वडा रहेका छन् । विशेषगरी दाङ उपत्यकामा बबई नदी र त्यसमा मिसिने सहायक खोलाहरुका कारण जोखिम छ भने देउखुरी उपत्यकामा राप्ती नदी र सहायक नदीले नोक्सान पार्ने गरेको छ । 

राजपुर गाउँपालिकाका ७ वटै वडा, गढवा गाउँपालिकाका ७ वटा वडा, राप्ती गाउँपालिकाका ८ वटा वडा, दंगिशरण गाउँपालिकाको ३ वटा वडा, बबई गाउँपालिकाका २ वटा वडा, शान्तिनगर गाउँपालिकाका ३ वटा वडा, लमही नगरपालिकाका ४ वटा वडा र तुलसीपुर उपमहानगरपालिकाका ३ वटा वडा बाढीको उच्च जोखिममा देखिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुुख खिलानाथ दाहालले बताए । बंगलाचुली, शान्तिनगर र राप्ती गाउँपालिकाका ७ वटा वडा पहिरोको उच्च जोखिममा छन् । 

‘वर्षात्को मौसममा उर्लिने ठाडा खोलाहरू दाङमा धेरै छन्, किनारमा बस्तीहरु छन्, उनीहरू बर्सेनि जोखिममा पर्छन्, उनीहरूलाई समयमै सूचना पुर्‍याउन र सुरक्षा दिन नसक्दा पनि समस्या भइरहेको छ,’ दाहालले भने, ‘जोखिम क्षेत्रमा बस्नेहरूले समेत सचेत नहुँदा बर्सेनि क्षति हुने गरेको छ ।’ 

यस्तो छ पूर्वतयारी कार्ययोजना

जिल्ला विपद् जोखिम न्यूूनीकरण तथा व्यवस्थापन समिति दाङले मनसुन पूर्वतयारी कार्ययोजना २०७६ निर्माण गरेको छ । मनसुनसँगै हुनसक्ने आपतविपद्को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । मनसुनको पूर्वतयारी, उद्धार र राहत लगायतका सम्पूर्ण व्यवस्थापनका लागि जिल्लाका सरकारी तथा गैरसरकारी निकायबीच काम बाँडफाँड समेत भइरहेको उनले बताए ।

कार्ययोजनाअनुसार जिल्ला समन्वय समितिको नेतृत्वमा पुुनःस्थापना तथा पुुनःनिर्माण, जिल्ला शिक्षा विकास समन्वय इकाई समिति र सम्बन्धित स्थानीय तहका शिक्षा शाखाको संयोजनकत्वमा शिक्षा समिति, प्रत्येक स्थानीय तहको महिला तथा बालबालिकाका शाखाको संयोजकत्वमा संरक्षण समिति, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजनको संयोजकत्वमा खानेपानी तथा सरसफाइ समिति, कृषि ज्ञान केन्द्र तथा खाद्य संस्थानको सहकार्यमा खाद्य तथा कृषि निर्माण भएको छ । 

आश्रय स्थल तथा गैरखाद्यवस्तुुको व्यवस्थापन शहरी विकास भवन निर्माण कार्यालय र रेडक्रस सोसाइटी, समन्वय खोज तथा उद्धार प्रजिअको सयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र सूचना सम्प्रेषण जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङलाई जिम्मेवारी तोकिएको छ । 

विपद् व्यवस्थापन र पूर्वतयारीको विषयमा जनजागरणको रुपमा प्रशिक्षण तथा प्रचारप्रसार गर्ने, सुरक्षा निकायसहित सबै सरोकारवाला निकायले विपद् सुरक्षा तालीमलगायत स्रोतसाधनको तयारी गर्ने र अत्यावश्यक सरसामान, उपकरण र वस्तुहरू परिस्थितिअनुसार तुरुन्त प्रयोग गर्न सकिने अवस्थामा राख्ने, विपद् परेमा तत्काल उद्धार गरी प्रभावितलाई राहत वितरण गर्ने उद्देश्यले जिल्लाका विकट स्थानहरुमा रहेको गापा/नेपाल रेडक्रस सोसाइटी/जिल्ला खाद्य डिपो तथा स्थानीय तहमा तयारी खाद्य तथा गैरखाद्यवस्तुको भण्डारणको व्यवस्थापन गर्ने र ग्रामीण क्षेत्रका बिग्रिएका बाटोहरुको मर्मत गर्ने कार्ययोजनामा उल्लेख छ । 

बाढी पहिरोले सडक अवरुद्ध भए सडक पुनः सञ्चालनमा ल्याउन  आवश्यक परे डोजरको प्रयोग गर्ने, हैजा/झाडा पखाला फैलिएको अवस्थामा तुरुन्त स्वास्थ्यकर्मीको टोली खटाई नियन्त्रण गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनका अनुसार विस्थापित तथा घाइते बिरामीहरुको समयमै उपचार गरी प्रभावित क्षेत्रमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गर्न र घाइतेहरुलाई अस्पताल लैजान मद्दत गरिने छ । 

विगतमा बाढीले पुर्‍याएको क्षतिको आधारमा जनशक्ति र उद्धार सामग्री अपर्याप्त देखिन्छ । अहिले जिल्लामा १० लाखभन्दा बढी नै राहत कोष छ तर उद्धार सामग्री र तालिम प्राप्त जनशक्ति अपर्याप्त रहेको छ । 

नेपाल प्रहरी जिल्लाभर ५२५, नेपाली सेना १८० र सशस्त्र प्रहरी ३५ जना तालीम प्राप्त जनशक्ति रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख दाहालले बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजी अस्पताल, स्वास्थ्य चौकी लगायत निजी र नेपाल रेडक्रस सोसाइटी लगायत संस्थाका ३८ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । 

घोराही, तलसीपुर र लमहीका ४ वटा दमकल, ८३ वटा डोजर, १२ वटा स्काभेटर, एउटा शवबाहन तयारी अवस्था छन् । सिसहनियाँ, गोबर्डिहा, गंगापरस्पुर, बेला राजपुर, सतवरिया लगायतका क्षेत्रमा १२ वटा  डुंगा र १५ वटा खानेपानी ट्यांकर तयारी अवस्थामा राखिएको प्रशासन कार्यालयले बताएको छ । – नवीन नेपाली/रासस

salt training

कमेन्ट गर्नुहोस्