
काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले द फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उदारवादी नीतिहरू पश्चिममा मरिसकेको बताएका छन् । अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति बन्नु र युरोपमा राष्ट्रवादी लोकरञ्जनवादी आन्दोलन चल्नुले यो मृत्यु देखाएको उनको भनाइ छ ।
‘उदारवादीहरूले विगतका केही दशकमा जसलाई जे मन लाग्यो त्यही भन्ने गरेका थिए तर अब त्यो चल्दैन,’ उनले भने, ‘उदारवादी विचारधाराको मिति गुज्रिसकेको छ । बहुसंख्यक जनताको हितको प्रतिकूल हुन पुगेको छ यो ।’
उनको यो दाबीलाई युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टस्कले शुक्रवार प्रतिवाद गरेका छन् ।
‘उदारवादको मिति गुज्रियो भन्ने तर्कप्रति म पटक्कै सहमत छैन । यस्तो दाबी गर्ने व्यक्तिले स्वतन्त्रताको पनि मिति गुज्रिएको, विधिको शासनको मिति गुज्रिएको र मानवअधिकारको मिति गुज्रिएको भन्छ,’ उनले भने ।
‘युरोपमा बस्ने हामीहरूका लागि यी कुराहरू महत्त्वपूर्ण र जीवन्त मूल्यमान्यता हुन् । बरू निरंकुशता, व्यक्तिपूजाको संस्कृति, सीमित वर्गको शासनको चाहिँ मिति गुज्रिएको छ । तिनीहरू प्रभावशाली देखिएपनि मिति गुज्रिसकेको छ ।’
जर्मनीकी चान्सलर एंगेला मर्कलले दश लाखभन्दा बढी आप्रवासी भित्र्याउने निर्णय लिनु भयंकर ठूलो गल्ती भएको पुटिनले बताए ।
अनि मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूलाई रोक्ने ट्रम्पको प्रयासलाई उनले प्रशंसा गरे ।
‘यो उदारवादी विचारधाराले केही पनि गर्नु हुँदैन भन्छ । आप्रवासीहरूले दण्डहीनताका साथ मार्न, लुट्न र बलात्कार गर्न सक्छन् किनकि उनीहरूको आप्रवासी अधिकार संरक्षण गर्नुपर्छ रे ।’
पुटिनले समलिंगी अधिकारका विषयमा रुसको रेकर्डलाई पनि प्रतिरक्षा गर्न खोजे । ‘मैले कसैलाई पनि अपमान गर्न खोजेको हैन तर हामीलाई समलिंगीप्रति घृणा देखाएको आरोप लाग्ने गर्छ । समलिंगीसँग हामीलाई समस्या छैन । उनीहरू जसरी बस्न मन लाग्छ, बसून्,’ पुटिनले भने । ‘तर केही कुरा हाम्रा लागि अति नै भएका छन् । उनीहरू अब बालबालिकाले पाँच वा ६ लैंगिक भूमिका खेल्न सक्ने बताउँछन् ।’
मस्कोले समलिंगीविरोधी कानून बनाएको भनी संसारभरि आलोचना हुने गरेको छ । यो कानूनलाई सन् २०१३ मा पुटिनले स्वीकृति दिएपछि समलिंगीहरूमाथिको आक्रमण बढेको मानवअधिकार समूहहरूको भनाइ छ । संयुक्त राष्ट्रसंघको एक प्यानलले अघिल्लो वर्ष यो कानून मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनविरुद्ध रहेको निर्णय गरेको थियो ।
द गार्डियनबाट