
काठमाडौं – चीनको दक्षिणपश्चिमी भागमा भीषण वर्षा र बढी आउँदा विनाश मच्चिएको छ । पानीका कारण सडक अवरुद्ध भएका छन्, घरहरू भत्किएका छन् अनि स्थानीयहरू भाग्नुपरेको छ ।
गुइचु प्रान्तमा शनिवारदेखि सोमवारसम्म भएको भीषण वर्षाका कारण तीनजनाको मृत्यु भएको र तीन अन्य हराइरहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
स्तब्ध बनाउने भिडियोहरूमा पार्क गरेर राखिएका कैयौं गाडीहरू बाढीको पानीमा बगेर गएको अनि विवश स्थानीयहरू टुलुटुलु हेर्न बाध्य भएको देखिन्छ ।
भीषण वर्षाका कारण जुन्यी शहरमा सबभन्दा बढी असर परेको छ । त्यहाँ २०० मिलिमिटर वर्षा भएको छ ।
बाढीका कारण ४ लाख ५५ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् र कम्तीमा ६०० वटा घर क्षतिग्रस्त भएका छन् ।
बाढीका कारण १५ सय हेक्टेयर खेतका बाली बगेर गएका छन् ।
एक हजारभन्दा बढी उद्धारकहरूलाई गाउँ खाली गराउन र आपतकालीन मर्मत कार्य गर्न खटाइएको छ ।
याङ्चे नदीमा प्रायः बाढी आइरहेको हुन्छ र नदीको किनारामा रहेका बस्तीहरूमा बाढी पसेको छ ।
एजेन्सी