
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको इटहरीका मेयर द्वारिकलाल चौधरीले नारीको शिष्टतामाथि निन्दा गरेको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकको शुरूमै सभामुखसँग समय लिएर कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले मेयरको अभिव्यक्तिप्रति आपत्ति जनाएकी हुन् ।
मेयर चौधरीले यौन धन्दामा संलग्न महिलालाई संकेट गर्दै र, जिन्दावाद ! भनेका थिए ।
‘इटहरीका मेयरले बोलेका कुराप्रति सरकारको ध्यानाकर्षण गर्छु । कुनै पनि जनप्रतिनिधिले कसैलाई अपहेलित गर्ने अधिकार छैन । नारीहरू हाम्रा आमा, सहयात्री, छोरी र बुहारी हुन् । कुनैपनि जनप्रतिनिधि र नेपालीले नारीमाथि अभद्र बोल्ने छूट छैन । नारीको मर्यादा, शिष्टतामाथि बोल्ने मेयरमाथि निन्दा व्यक्त गर्दछु,’ अध्यक्ष खाणले भने ।
कांग्रेसकै सांसद लक्ष्मी परियारले पनि मेयर चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाइन् ।
‘इटहरीका मेयरको अहमता केका लागि हो ? कहिले पत्रकारको नाकको डाँडी भाँच्छु भन्नुहुन्छ, कहिले महिलामाथि अभिव्यक्ति दिने ? सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहान्छु– मेयरलाई नेकपाले डामेर छाडेको हो ?’ शून्य समयमा सांसद परियारले भनिन् ।
नेकपाकी सांसद विन्दा पाण्डेले पनि मेयरको नाम नै नलिई कारवाहीको माग गरिन् ।
‘कतिपय जनप्रतिनिधिका अभिव्यक्तिले मतदाताको शिर निहुराउने काम गरेको छ । उनका अभिव्यक्ति शिष्ट मात्र होइन अपराधिक छन् भन्ने मिडियामा आएको छ । त्यस्ता अभिव्यक्ति दिने व्यक्तिमाथि यथाशीघ्र कारवाहीको माग गर्दछु,’ नेकपा सांसद विन्दा पाण्डेले भनिन् ।
मेयर चौधरीको अभिव्यक्तिप्रति अधिकारकर्मीले पनि विरोध जनाएका छन् ।