०५ असार २०८३, शुक्रबार

साँफेबगर नगरपालिकामा पानीको मुहान संरक्षण गरिँदै

साँफेबगर नगरपालिकामा पानीको मुहान संरक्षण गरिँदै
फाइल फोटो

अछाम – जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजंगलको दोहन, जथाभावी डोजरको प्रयोगलगायत कारणले पानीका मुहान सुक्दै गएपछि साँफेबगर नगरपालिकाले ‘मुहान संरक्षण अभियान’ थालेको छ ।

सुख्खायाममा मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि नगरपालिकाले पोखरी निर्माण गर्न थालेको छ ।

साँफेबगर–१३ बाब्लामा ५ लाखको लागतमा पोखरी पुनःनिर्माण गरिएको छ । पुरिँदै गएको शुभदहको पनि पुनःनिर्माण गरिएको साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिए ।

२ दशक अघिसम्म भरिभराउ रहने शुभदह अहिले रित्तो छ । त्यस वरिपरि पानीको मुहान मुहान सुक्दै गएका छन् ।

बाब्ला पर्यटन तथा धार्मिक पूर्वाधार समितिका अध्यक्ष रुपबहादुर कुँवरले शुभदहको संरक्षणका लागि नगरपालिकाले सहयोग गरेपछि तालको पूरै माटो निकालिएको बताए । ‘अब बर्खामा पानी जम्मा गरेर ताल पुरानै अवस्थामा ल्याउँछौं,’ उनले भने । बर्खाको पानी पोखरीमा जम्मा गर्न ‘रिचार्ज पोखरी’ निर्माण गरिएको साँफेबगर–१३ बाब्लाका अध्यक्ष सागरसिंह बाब्लीले बताए ।

चालू आवमा साँफेबगर नगरपालिका–८ चण्डिकास्थित बयालपाटामा पुरिएको अवस्थामा रहेको दयाखालको पनि संरक्षण गरिने नगर प्रमुख कुँवरले बताए । संघीय सरकारबाट समेत साँफेबगर–१३ बाब्लामा रिचार्ज पोखरी निर्माण तथा जलवायु परिवर्तन न्यूनीकरण कार्यक्रमका लागि ७२ लाख रुपैयाँ बजेट उपलब्ध भएको कुँवरको भनाइ छ ।

रिचार्ज पोखरी निर्माण तथा पुरिएका पोखरी निर्माणका लागि आगामी आवमा २० लाख रुपैयाँ विनियोजित गरिएको छ ।  

‘नगरपालिकाको अन्य स्रोतबाट र प्रदेश सरकारबाट प्राप्त हुने थप करीब ३० लाख रुपैयाँ रिचार्ज पोखरी निर्माण गर्न खर्च गरिने छ,’ नगर प्रमुख कुँवरले भने । चौधवटै वडामा पुराना पोखरी निर्माणसँगै आवश्यकताका आधारमा रिचार्ज पोखरी निर्माण गरिने उनले बताए । खोला र नदीको दूषित पानी पिउने बाध्यता हटाउन रिचार्ज पोखरी निर्माण गर्न थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले बताए ।

salt training

कमेन्ट गर्नुहोस्