
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसतर्फ इंगित गर्दै अति नगर्न चेतावनी दिएका छन् ।
शनिवार राष्ट्रिय सभागृहमा मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसका नेताहरू आफ्नो कार्यक्रममा आएर बिग्रियो, भत्क्यो भन्न नहुने बताएका हुन् ।
'यो पार्टी सकियो भने कांग्रेसले देशको नेतृत्व गर्ला भन्ने सम्भावना पनि छैन,' प्रचण्डले भने, 'हामी असफल भयौं भने सबै एकैचोटी असफल हुन्छौं । कांग्रेसले हामीलाई अति गर्नु आवश्यक छैन । तपाईंहरूले अति गर्नुभो भने हामी पनि मान्छे नै हौं, दिमाग खराब हुन्छ ।'