
पाल्पा - नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले जहाँ लोकतन्त्र हुन्छ, त्यहाँ प्रेस स्वतन्त्रता हुने विचार व्यक्त गरेका छन् ।
पाल्पाको तानसेनमा आयोजित नेपाल पत्रकार महासंघ दलित समुदायका पत्रकारहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दे यादवले राष्ट्रिय एकता र सामाजिक सद्भावको विकास गर्न सञ्चार जगतले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताएका हुन् । पूर्वराष्ट्रपति यादवले शान्ति प्रक्रियाका बाँकी काम सकेर आर्थिक समृद्धितर्फ लाग्ने समय आएको बताए ।
उनले पछिल्लो समय बढ्दो ताफक्रममका कारण गर्मी बढेको र यसको कारण जलवायु परिर्वतन भएकाले मानव जीवनका साथै प्रकृति पर्यवरणमा प्रभाव पारेको उल्लेख गरे । पूर्वराष्ट्रपति यादवले यसतर्फ सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने समय आएको भन्दै सचेत रहन आग्रह गरे ।
नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकले लोकतन्त्रको उपहास गरेको भन्दै कुनै पनि हालतमा यस विधेयकलाई जस्ताको तस्तै फिर्ता लिन सरकारसमक्ष आग्रह गरे । आचार्यले सञ्चारको संरचनामा अझै संघीयता नआएको बताउँदै मिडिया हाउसलाई समावेशी बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा सूचना आयुक्त, कृष्णहरि बास्कोटा, प्रदेश सांसद तुलाराम घर्ती र वीरबहादुर राना, जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, तानसेन नगरपालिका अशोक कुमार शाहीले दलित समुदायले जातीय आधारमा समस्या भोगेको र त्यस समुदायका पत्रकारहरुका समस्या तथा भोगाई अझै पिडादायक रहेकोले त्यस्ता समस्या हटाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासघका महासचिव रमेश विष्ट, सचिव रेश विक, प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देल, फोनिजका अध्यक्ष दण्ड गुंरुग, प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा र दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडी, वरिष्ठ पत्रकार पत्रकार मेघराज शर्मा, नेपाल पत्रकार महासघ पाल्पा शाखाका अध्यक्ष राजेश कुमार अर्याल लगायतले दलित समुदाय शिक्षित समुदायबाट अपमानित हुनुपरेको र त्यस समुदायका पत्रकारहरुले पनि जातीय विभेद तथा आर्थिक समस्या रहेको बताए ।
कार्यक्रममा दलित समुदायको उत्थानको लागि कलमचालएका पत्रकार विनोद पहाडी सहित ७ जनालाई सम्मान गरिएको थियो ।
सम्मेलनमा नेपालभरका सय भन्दा बढी दलित समुदायका पत्रकारहरुको सहभागिता रहेको छ । सम्मेलनमा दलित समुदायका पत्रकारहरुको हक अधिकार तथा भोगेका समस्या तथा चुनौतीका विषयमा छलफल गरी दलित समुदायका पत्रकारहरुको हक हित हुनेगरी घोषणापत्र जारी गर्ने तयारी रहेको सम्मेलनकी अध्यक्ष मधु शाहीले बताइन ।