
एजेन्सी- इंग्ल्याण्डमा जारी १२ औं संस्करणको क्रिकेट विश्वकपअन्तर्गत आइतवार भारत र इंग्ल्याण्डबीच हुँदैछ ।
आजको खेल इंग्ल्याण्डका लागि 'गर या मर'को हुनेछ । सेमिफाइनलमा स्थान बनाउनका लागि इंग्ल्याण्डले आजको खेल जित्नैपर्छ ।
उता भारतले जारी विश्वकपमा एउटा पनि खेल गुमाएको छैन । साथै आजको खेलमा भारतले निलो जर्सी भने लगाउँदैन । भारतीय टीमले आज सुन्तला रङको जर्सी लगाउनेछ ।
तय हुनेछ इंग्ल्याण्डको यात्रा
इंग्ल्याण्डले श्रीलंका र पाकिस्तानसँग अप्रत्यासित हार बेहोरेको छ । जसकारण उसको सेमिफाइनल पुग्ने बाटो थोरै अल्मलिएको छ । इंग्ल्याण्डलाई सेमिफाइनलमा पुग्न कुनै पनि हालतमा आज भारतलाई हराउनुपर्नेछ । यस्तोमा इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले टीमले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् । उसलाई सेमिफाइनलमा पुग्न भारतलाई हराएर मात्रै पुग्दैन, न्यूजिल्याण्डलाई पनि पराजित गर्नुपर्नेछ ।
कार्तिक अथवा पन्तले पाउन सक्छन् मौका
उत्कृष्ट लयमा देखिएको भारतीय टीमले आजको म्याचमा जीत हात पारेमा सेमिफाइनलमा स्थान पक्का बनाउनेछ । भारतलाई सेमिफाइनलमा जानका लागि ३ खेलमा मात्र एक अंकको जरूरी छ । जारी विश्वकपमा भारतले कुनैपनि खेल नगुमाएको कारण उसको आत्मविश्वास बढेको छ । सोही आत्मविश्वासको बलमा आज भारतले इंग्ल्याण्डविरुद्ध खेल्नेछ ।
जारी विश्वकपमा भारतीय टीमको समस्या भनेको नम्बर चारमा रहेका ब्याट्स्म्यानको हो । चार नम्बरमा विजय शंकरले मौका पाए भने अपेक्षाअनुसारको प्रदर्शन गर्न सकेनन् । उनीसँग समय भएपनि मैदानमा खुल्न सकेनन् । बताइएअनुसार भारतीय टीम यतिबेला विजयको विकल्प सोचिरहेको छ । यस्तोमा इंग्ल्याण्डविरुद्ध दिनेश कार्तिक अथवा ऋषभ पन्तले मौका पाउन सक्छन् ।
मध्यक्रममा समस्या
भारतको शीर्षक्रम निकै बलियो छ तर मध्यक्रमले अहिलेसम्म कुनै चमत्कार गर्न सकेको छैन । महेन्द्रसिंह धोनीले रन त बनाइरहेका छन् तर जुन गतिमा बनाउनुपर्ने हो त्यो देखिएको छैन । उता केदार जाधवले पनि खास प्रदर्शन गर्न सकेका छैनन् । हार्दिक पांड्याले धोनी पछाडि ब्याटिङ गरेपनि हुनुपर्ने जति आक्रामकता छैन ।
जेसन रोयको खेल्ने सम्भावना बढी
जोनी बेयरस्टो, जोस बटलर, इयोन मोर्गन, बेन स्टोक्स, जो रूटको नामले नै बलरहरू डराउँछन् । उता भारतीय बलर जसप्रीत बुमराह र मोहम्मद शामी पनि उत्कृष्ट फर्ममा छन् । मध्य ओभरमा युजवेंद्र चहल र कुलदीप यादव इंग्ल्याण्डका लागि चुनौती हुनसक्छ ।
इंग्ल्याण्डको यसअघिका खेलमा जेसन रोयको कमी खड्केको थियो । उनी चोटका कारण मैदानबाहिर थिए । तर आजको खेलमा उनी खेल्ने सम्भावना बलियो रहेको बताइएको छ । आजको म्याचमा जेसन रोय उपलब्ध भए भारतका लागि खतरा हुनेछ । उनको र बेयरस्टोको जोडीले भारतलाई अफ्ट्यारोमा पार्न सक्छ ।
भारत : विराट कोहली (कप्तान), जसप्रीत बुमराह, युजवेंद्र चहल, शिखर धवन, महेंद्र सिंह धोनी (विकेटकीपर), रवीन्द्र जडेजा, केदार जाधव, दिनेश कार्तिक, हार्दिक पंड्या, लोकेश राहुल, मोहम्मद शमी, विजय शंकर, रोहित शर्मा, कुलदीप यादव ।
इंग्ल्याण्ड : इयोन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयरस्टो (विकेटकीपर), जोस बटलर, टोम कुरेन, लियाम डोसन, लियाम प्लंकेट, आदिल राशिद, जोए रूट, बेन स्टोक्स, जेम्स विंस, क्रिस वोक्स, मार्क वुड ।
तस्वीर : आईसीसी