काठमाडौं – भारतको लखनउमा दुई इन्जिनीयर साथीहरूले चिया बेचेरै करोडौं भारु कमाएका छन् ।
अभिनव टण्डन र प्रमित शर्माले चाय कलिङ नामक चिया व्यवसाय चलाएका छन् । उनीहरूले पिज्जा र अन्य खानेकुरा बाहेक चियाको पनि होम डेलिभरी शुरू गरे । हजारौं मानिसले प्रत्येक दिन घर वा कार्यालयमा चिया पिइरहँदा उनीहरूको कारोबार बढिरहेको हो ।
टण्डन र शर्माले अहिले १५ वटा चियापसल खोलेका छन् । उनीहरू वर्षको २ करोड भारु कमाइरहेका छन् । बरेलीमा बस्ने उनीहरूले लखनउबाट इन्जिनीयरिङ गरेका थिए । पढाइ सकेपछि दुवैले बहुराष्ट्रिय कम्पनीमा काम थाले ।
पछि जागिर खानुभन्दा आफ्नै काम थाल्नु उपयुक्त हुने उनीहरूले बुझे । सन् २०१४ मा दुवैले चाय कलिङ नाम राखेर नोएडाको सेक्टर–१६ मेट्रो स्टेसननजिक चियापसल शुरू गरे ।
अभिनवले भने, ‘म अफिसमा काम गर्दा मशिनको चिया पिउनुपर्थ्यो । दिक्क लागेपछि बाहिर गएर चिया पिउन थालें । त्यसपछि चिया पसल शुरू गर्दा फाइदा हुन्छ जस्तो लाग्यो । अनि साथीसँग मिलेर एक लाख भारु लगानी गरेर चियापसल थापियो ।’
उनीहरूले चाय कलिङ नामबाट वेबसाइट पनि बनाए । व्यापार बढ्दै गएपछि कार्यालयहरूले कन्ट्र्याक्ट दिए । अफिसहरूमा चियाको डेलिभरी गरिन थाल्यो ।
एक कप चिया १० र १५ भारुमा बेच्छन् उनीहरू ।
व्यापार बढ्दै गएपछि अभिनव र प्रमितले घरहरूमा पनि १५ मिनेटभित्र चिया पुर्याउन थाले ।
चाय कलिङले १०० युवालाई रोजगारी दिएको छ ।
एजेन्सी