काठमाडौं – क्रिकेट विश्वकपमा बुधवार भएको खेलमा इंग्ल्यान्डले न्युजील्यान्डलाई १२० रनले हराएपछि पाकिस्तान सेमिफाइनलमा पुग्ने बाटो बन्द भएको छ ।
राम्रो नेट रनरेटका आधारमा न्युजील्यान्ड नै सेमिफाइनल पुग्ने भएको छ । न्युजील्यान्डको साटो आफू सेमिफाइनल पुग्ने हो भने पाकिस्तानले शुक्रवारको खेलमा बंगलादेशलाई ३१६ रनको विशाल अन्तरले हराउनुपर्ने हुन्छ । कथंकदाचित बंगलादेशले पहिलो ब्याटिङको मौका पायो भने चाहिँ पाकिस्तानको त्यो सम्भावना पनि तुहिनेछ ।
हिजोको खेल सकिएपछि बीबीसी रेडियोका कमेडियन एन्डी जाल्ट्सम्यानले बुधवार रमाइलो गर्दै भने, ‘पाकिस्तानले पहिले ब्याटिङ गरेमा ४०० रन बनाउनुपर्छ ।’ अब त्यसो गर्न असम्भव भने छैन । ‘तर उसले बंगलादेशलाई ८४ रनमा सीमित गर्नुपर्छ,’ जाल्ट्सम्यानले भने । यो चाहिँ पूरै असम्भव छ । जाल्ट्सम्यानको भनाइ पनि स्टुडियोमा सबैजना गलल्ल हाँसे ।
पहिलो खेलमा इंग्ल्यान्डलाई हराएर यस विश्वकपमा दमदार प्रदर्शन गरेको पाकिस्तानले त्यसपछि लगातार खेल हार्दै गएर आफैंलाई अप्ठ्यारो स्थितिमा पुर्यायो । पछि उसले न्युजील्यान्ड र अफगानिस्तानलाई हराएर कमब्याक गर्न खोजेको भए पनि धेरै ढिलो भइसकेको थियो ।
भारतले इंग्ल्यान्डलाई र न्युजील्यान्डले पनि इंग्ल्यान्डलाई हराएमा आफ्नो बाटो सहज हुने अपेक्षा पाकिस्तानले गरेको थियो तर त्यसो हुन सकेन ।
अब आजको खेल जितेर ऊ विश्वकपबाट सम्मानजनक बहिर्गमन खोजिरहेको छ ।
एजेन्सी