काठमाडौं – भारतमा कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिइसकेका राहुल गान्धी यो महिना मात्र पाँचवटा विभिन्न अदालतमा उपस्थित हुनुपर्नेछ ।
भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघविरुद्ध दिएका बयानका लागि उनलाई जुलाई महिनामा पाँच मुद्दामा विभिन्न अदालतमा पेश गरिनेछ ।
लोकसभा चुनावमा प्रचारका बेलामा राहुलले भाजपा र आरएसएसविरुद्ध शाब्दिक आक्रमण गरेका थिए । उनका बयानविरुद्ध अनेकौं मुद्दा दर्ता गरिएका थिए ।
बिहीवार राहुल सीपीएम नेता सीताराम येचुरीसँग मुम्बई अदालतमा पेश हुँदैछन् । सामाजिक कार्यकर्ता गौरी लंकेशको हत्यालाई भाजपा र आरएसएसको विचारधारासँग जोडेर दिएको बयानमा यी दुई नेताविरुद्ध मानहानिको मुद्दा दायर गरिएको छ ।
राहुलको अर्को पेशी पटना उच्च अदालतमा शनिवार हुँदैछ । बिहारका उपमुख्यमन्त्री सुशील कुमार मोदीले राहुलविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । राहुलले सबै चोरको नाम मोदी हुन्छ भनी बयान दिएपछि मोदीले उनीविरुद्ध मानहानिको मुद्दा हालेका हुन् ।
भाजपा अध्यक्ष अमित शाहलाई हत्या आरोपित पार्टी अध्यक्ष भनी दिएको बयानका लागि राहुलविरुद्ध मुद्दा दर्ता गरिएको हो । गुजरातकै अर्को अदालतमा फौजदारी मुद्दा दायर गरिएको छ । अहमदाबाद जिला कोअपरेटिभ बैंकका अध्यक्षले उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन् । सूरतको अदालतमा पनि उनीविरुद्ध मुद्दा छ ।
एजेन्सी