
काठमाडौं – होन्डुरसको सेनाले क्यारिबीयन समुद्रमा खराब मौसमका कारण माछा समात्ने एक जहाज समुद्रमा डुबेको र कम्तीमा २७ माझीको मृत्यु भएको जानकारी दिएको छ ।
घटनापछि ५५ जनालाई बचाइएको अनि नौजना बेपत्ता भएको उसको भनाइ छ ।
सेनाका प्रवक्ता जोस डोमिंगो मेजाले दुर्घटना बुधवार बिहानै तटभन्दा ४० माइल पर भएको बताए । मौसम सफा नभएपनि माछा समात्न जहाजका कप्तान गएको उनले बताए ।
क्यारिबीयन व्यावसायिक माझी संघका अनुसार, घटनापछि वरपरका डुंगा र जहाजलाई सहायताका लागि बोलाइएको थियो ।
उक्त क्षेत्रमा माछा समात्ने अर्को जहाज पनि डुबेको तर त्यसमा भएका ४९ जनालाई सुरक्षित उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।
एजेन्सी