
काठमाडौं– सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गरी सजाय तोकिएका गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएपछि नेकपाभित्र तीव्र विरोध भएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले बिहीबार गुरुङलाई पार्टी प्रवेश गराएका हुन् । गुरुङलाई प्रवेश गराउने क्रममा मुख्यमन्त्रीले नेकपा सुध्रिन चाहनेहरूका लागि एउटा प्लेटफर्म भएको धारणा राखेका थिए ।
नेकपाका नेताहरूले पार्टीको नीति र सिद्धान्तलाई ख्याल नगरी विवादित व्यक्तिलाई प्रवेश गराएको भन्दै आपत्ति जनाएका छन् । नेकपाका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा नेतृत्वमाथि प्रश्न उठाएका छन् ।
‘कम्युनिस्ट पार्टीले विचारधारा र सिद्धान्तका आधारमा मान्छेहरू निर्माण गर्छ तर त्यो निर्माण गर्ने प्रोसेसिङ प्लान्ट नै बिग्रेपछि आउनुपर्ने मान्छे आउँदैनन्, नआउनुपर्ने आउँछन्, हामीकहाँ त्यस्तो हुँदै छ,’ मनाङेको प्रवेशप्रति आपत्ति जनाउँदै नेकपा नेता घनश्याम भुसालले भने ।