काठमाडौं – पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोटस्थित शावाला तेजा सिंह मन्दिर पाकिस्तान स्वतन्त्र भएपछि पहिलोपटक खोलिएको छ ।
यस हिन्दू मन्दिरमा भारतबाट देवीदेवताको मूर्ति लगेर पूजा गरिनेछ । श्रद्धालुहरूले हिन्दू संस्कार अपनाएर मन्दिरको शुभारम्भ गरेका छन् । त्यसक्रममा हरहर महादेव उच्चारण गरिएको थियो ।
मन्दिर फेरि खोल्ने पहल पाकिस्तान ट्रस्ट प्रोपर्टी बोर्डले गरेको हो।
श्राइन सेक्रेटरी सैयद फराज अब्बासले विगत केही वर्षदेखि हिन्दू समुदायका मानिसले यस मन्दिरलाई फेरि खोल्न माग गरिरहेको बताए ।
बोर्ड अनि प्रधानमन्त्री इमरान खानको निर्देशनमा मन्दिर फेरि खोलिएको हो । मन्दिरको नवीकरणको लागत आकलन गरेर जीर्णोद्धार कार्य शुरू गरिनेछ ।
मन्दिर खोल्नु बाहेक पाकिस्तानले करतारपुर कोरिडोर पनि बनाउँदैछ । कोरिडोरलाई सिख धर्मका संस्थापक गुरु नानकको ५५०औं प्रकाश पर्व अर्थात् जन्मदिनमा खोलिनेछ । करतारपुर कोरिडोरमा सिख श्रद्धालुहरूलाई भिसा फ्री प्रवेश दिइनेछ । हालै पाकिस्तानको लाहौरमा महाराजा रणजीत सिंहको मूर्ति पनि स्थापना गरिएको थियो । महाराज रणजीत सिंहको १८०औं पुण्यतिथिमा मूर्ति अनावरण गरिएको थियो ।
एजेन्सी