
काठमाडौं – काभ्रेको रोशी गाउँपालिका–७ का वडा अध्यक्ष पोष्टराज गौतम १ अर्ब ८ करोड रुपैयाँको भुक्तानी पाउँ भन्ने पत्रसहित गृह मन्त्रालय आए ।
गौतम त्यो पत्र लिएर आएपछि गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी अचम्ममा परे ।
गृह मन्त्रालयको ‘लेटरप्याड’ र छाप तथा प्रवक्ता सुवेदीकै हस्ताक्षरसहित कीर्ते गरेको पत्र लिएर आएका थिए वडा अध्यक्ष गौतम । आफूले नगरेको हस्ताक्षरमा आफ्नै नाम देखेपछि प्रवक्ताले कीर्ते कागजतबारे थाहा पाए ।
तत्कालै उनले महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई खबर गरे । प्रहरी आएपछि कीर्ते धन्दा गरेर करोडौं रकम कुम्ल्याउन खोज्ने दम्पतीको पर्दाफास भयो ।
सरकारी कागजात नक्कली गरेर सिंहदरबारबाटै पैसा फुत्काउन खोज्ने दम्पतीको आँट देखेर प्रहरी समेत चकित भयो । ‘सरकारबाट पाइने आफ्नो पैसा सिधै आफूलाई नदिने वडाध्यक्षमार्फत आउनुपर्ने भन्दै लक्ष्मी अधिकारी र उनका श्रीमान् राजनकुमार थापाले कागज दिएका रहेछन्,’ महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीले लोकान्तरलाई भने, ‘लक्ष्मी दम्पतीले नेपाल राष्ट्र बैक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नबिल बैकको कीर्ते कागज बनाएका रहेछन् ।’
वडाध्यक्ष गौतमलाई समेत झुक्याइएको देखिएपछि उनलाई कुनै कारवाही गरिएन । लक्ष्मीका बुवा भोलाप्रसाद अधिकारीको विदेश बहराइनमा मृत्यु भएको र बुवाको क्षतिपूर्ति बापतको १ अर्ब ८ करोड रुपैयाँ क्षतिपूर्ति पाउँ भन्ने लक्ष्मी दम्पतीले कागज कीर्ते बनाएका थिए । तर भोलाप्रसादको मृत्यु नभएको प्रहरीले जनाएको छ ।
लक्ष्मी दम्पती बाराको निजगढका सामान्य परिवारका व्यक्ति हुन् । लक्ष्मीका बुवा भोलाप्रसाद अधिकारी बारामै रहेको खुल्न आएको डीएसपी बुढाथोकीले बताए । ‘कीर्ते गरेर सरकारी निकायलाई ठग्न खोजेको देखिँदैछ । ती कागजात देखाएर अन्य व्यक्तिबाट विभिन्न बहानामा पैसा ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ डीएसपी बुढाथोकीले भने ।
रोशी गाउँपालिकास्थित लक्ष्मी दम्पती बस्ने घरका धनी दामोदर गौतमका छोरा र अन्य मानिसबाट कीर्ते कागजात देखाएर ठगी गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त सिंहदरबारको टोलीले बनेपा पुगेर गरेको अनुसन्धानबाट लक्ष्मी दम्पतीले २५ लाख रुपैयाँ ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।
‘अनुसन्धानको क्रममा उनीहरूको अन्य व्यक्तिसँग सम्बन्ध रहेको देखिँदैन । मोबाइलको कल डिटेल र अन्य सम्बन्ध पनि हेर्यौं,’ सिंहदबार वृत्तका डीएसपी कौशलकुमार बुढाथोकीले लोकान्तरलाई भने ।
नेपाल राष्ट्र बैंकको पनि ५ करोडको कीर्ते
लक्ष्मी दम्पतीले नेपाल राष्ट्र बैंकको पनि कराडौं कीर्ते गरेको खुलेको छ । बुवा भोला अधिकारीले पठाएको रकम उनकी छोरी लक्ष्मी अधिकारी बुझ्न आउने भन्ने पत्र बनाएर ५ करोड ८४ लाख रुपैयाँ ठगीको लागि कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ ।
लक्ष्मी दम्पतीले दामोदर गौतमको नाममा आएको ३ करोड २४ लाख २१ हजार ४ सय, भरतकुमार ढुंगानाको नाममा आएको ६५ लाख ७८ हजार रुपैयाँ, सिंहबहादुर थापाको नाममा आएको १९ लाख ६ सय र दामोदरप्रसाद गौतमको नाममा आएको १ करोड ७५ लाख रुपैयाँ चेक बुझ्न २०७५ पुस २४ गते ११ बजे नेपाल राष्ट्र बैंकमा आउन बैक म्यानेजरको कीर्ते गरेको खुलेको हो । वास्तविक पैसा कतैबाट पनि आएको थिएन, पैसा आउने कीर्ते कागज देखाएर ठगी गर्ने गरेको देखिएको जनाइएको छ ।

अख्तियारलाई पनि छोडेनन्
‘जग्गा फुकुवा गरिदिन हुन’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि कीर्ते गरेको खुलेको छ । अख्तियारकी सचिव राधिका अधिकारीको कीर्ते गरी देशैभर लक्ष्मी अधिकारीका नाममा भएको सम्पत्ति फुकुवा भएको कीर्ते गरिएको बरामद गरिएका कागजमा भेटिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

गृह प्रवक्ताको कीर्ते
अभियुक्त लक्ष्मी दम्पतीले गृह मन्त्रालयको ‘लेटरप्याड’ र छाप बनाइ गृह प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षर कीर्ते गरेको महानगरीय परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । ‘गृहको लेटरप्याड र स्ट्याम्प लगायत अन्य बैंकको पनि कीर्ते कागजात बनाएका रहेछन्,’ एसएसपी सुवेदीले भने ।
गृह मन्त्रालयको वेबसाइडमा भएको प्रेस विज्ञप्तिमा प्रयोग भएको ‘लेटरप्याड’ र हस्ताक्षरलाई हेरेर कीर्ते गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले लोकान्तरलाई बताए ।
‘गृहले बेलाबेलामा निकालेका प्रेस रिलिजलाई हेरी कीर्ते गरेका रहेछन् तर प्रेस रिलिजमा भएको हस्ताक्षर र उनीहरूले गरेको हस्ताक्षर मिल्दैन,’ उनले भने ।

नबिल बैंकका सीईओको कीर्ते
लक्ष्मी दम्पतीले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमृत घिमिरेको पनि कीर्ते गरी खातामा पैसा जम्मा गर्न सहज गर्नको लागि कागज बनाएको खुलेको छ । बैकबाट पैसा झिक्नको लागि बैंकलाई ‘रकम तयारी गर्नेबारे’ भन्दै कीर्ते कागज बताएका छन् ।
लक्ष्मी दम्पतीलाई ५ वटा विभिन्न व्यक्तिका नाममा रहेका पासपोर्ट र केही नगदसहित प्रहरीले पक्राउ गरेको थियो । अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
