
काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताएका छन् ।
नवलपरासी जिल्लाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अगुवा कार्यकर्तासँगको भेटघाटमा उनले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको स्पष्ट पारे ।
सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएका काम पाँच वर्षभित्रै सम्पन्न हुने विश्वास दिलाउँदै उपप्रधानमन्त्री पोखरेलले विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता जनाए । सरकारले घोषणा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै उनले भने, “जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुनेछ ।”
विचारका मामिलामा पार्टीभित्र देखिएका विवाद वा छलफललाई कार्यकर्ताले सामान्य मान्नुपर्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र दुवै फरक पृष्ठभूमिबाट आएकाले केही फरक मत देखिन सक्ने बताए ।
आगामी एक महिना भित्रमा संगठनात्मक सुधारका धेरै काम हुने बताउँदै उनले भने, “कार्यकर्ता व्यवस्थापनका धेरे कामहरु यो एक महीनामा सम्पन्न हुनेछ ।”
उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका अगुवा कार्यकर्ताले पार्टीभित्र देखिएको आन्तरिक विवाद, सरकारको कामकारवाही, एकीकरणको बाँकी कामको अवस्थालगायत विषयमा जिज्ञासा राखेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।