
सुर्खेत- कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेतका उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरेको छ ।
भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतको आयोजनामा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सुर्खेतका नौ वटै स्थानीय तहबाट छानिएका उत्कृष्ट कृषक,समूह र सहकारीलाई नगदसहित प्रमाणपत्र प्रदान गरेकी हुन् ।
‘कृषि पेशालाई सम्मान गरी कृषि क्षेत्रमा उत्पादन र आकर्षण बढाउनका लागि मन्त्रालयले पुरस्कार वितरण गरेको हो,’ मन्त्री केसीले भनिन्, ‘यसबाट कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउन र युवालाई कृषि पेशामा लाग्न उत्प्रेरणा मिल्ने हाम्रो अपेक्षा हो ।’ कृषि पेशा र कृषकलाई हेला गर्ने गरिएको भन्दै मन्त्री केसीले अब सबैले कृषिमा लगानी गर्नुपर्ने धारणा राखिन् ।
‘आउनुहोस् हामी सबै मिलेर कृषि क्षेत्रमा लगानी बढाऔं,’ उनले भनिन्, ‘कृषि पेशा तथा कृषकलाई सम्मान र प्रवर्द्धन गरेर मात्र समृद्धि सम्भव भएकोले कर्णाली सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेका हौं ।’ उनका अनुसार अब प्रत्येक जिल्लाबाट एक जना महिला र पुरुषलाई छनोट गरेर प्रदेश स्तरमा पनि पुरस्कार प्रदान गरिने छ ।
कर्णालीका १० जिल्लाका उत्कृष्ट कृषकहरूबाट एक महिला र एक पुरुष गरेर २० जना प्रदेशमा आउने तथा उनीहरू मध्येबाट प्रदेशको उत्पादक नायक र नायिका घोषणा गरिने उनको भनाइ थियो । प्रदेश स्तरीय उत्कृष्ट नायक र नायिकालाई जनही २ लाख ५० हजार रुपैयाँ सम्मान स्वरूप पुरस्कार प्रदान गरिने पनि मन्त्री केसीले जानकारी दिइन् ।
सुर्खेतका ९ वटा स्थानीय तहबाटट २-२ जना छनोट गरेर जिल्ला स्तरमा पुरस्कार प्रदान गरिएको हो । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार र कृषक प्रोत्साहन कार्यक्रम गरेर ३३ जनालाई पुरस्कार प्रदान गरिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतका सुचना अधिकारी मोहन गिरीले जानकारी दिए ।
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत स्थानीय तहबाट गाई ,भैंसी, बाख्रा, कुखुरा र माछापालन व्यवसाय सञ्चालन गरेका कृषक मध्येबाट एक जना महिला र पुरुष गरेर १८ जना उत्कृष्ट कृषक, जिल्ला स्तरीय गाई, भैंसी, बाख्रा, कुखुरा र माछा पालन व्यवसाय सञ्चालन गरेका कृषक, समूह, सहकारी र कृषि फार्म मध्येबाट ४ जना र उत्पादनका आधारमा दिइने प्रोत्साहन कार्यक्रम अन्तर्गत जिल्लाभरबाट प्रतिनिधित्व हुने गरी ११ जना सफल कृषकलाई पुरस्कार प्रदान गरिएको गिरीले जानकारी दिए ।
स्थानीय तहबाट छानिएका मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट १८ जनालाई १५ हजारका दरले २ लाख ७० हजार रुपैयाँ, उत्पादनका आधारमा दिइने प्रोत्साहन अन्तर्गत ४ लाख २९ हजार र मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार जिल्ला स्तरकालाई एक लाख ३५ हजार रुपैयाँ प्रदान गरिएको उनले बताए ।