२१ असार २०८३, आइतबार

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई खाँडले दिए यस्तो सुझाव

असार २१, २०७६
गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई खाँडले दिए यस्तो सुझाव

बुटवल- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कालीगण्डकी तिनाउ डाइभर्सनको विरोध नगर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई आग्रह गरेका छन् । 

मुलुकको प्राकृतिक स्रोत साधनको सबै क्षेत्रका जनताहरू उपयोग गर्न पाउनुपर्ने भन्दै गण्डकी प्रदेश हुँदै बगेको कालीगण्डकी तिनाउ डाइर्भसन बनाउनका लागि बाधा सृजना नगर्न मुख्यमन्त्री गुरूङलाई सुझाव दिएका हुन् ।  

तिलोत्तमा उद्योग वाणिज्य संघको पाँचौ वार्षिक साधारणसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उनले भने, ‘कालीगण्डकी तिनाउ डाइभर्सनको मुख्यमन्त्रीले विरोध गरेर हुँदैन । कालीगण्डकीको सबै पानी सुकाएर तिनाउमा झार्ने होइन । बढी भएको पानी तिनाउमा झार्ने हो । यो आयोजना मुख्यमन्त्री ज्यू विरोध नर्गनुहोस् । यो बिग प्रोजेक्ट रूपन्देहीका लागि बन्छ, बन्छ ।’ 

खाँणले थपे, ‘कालीगण्डकी तिनाउ डाइभर्सन रूपन्देही, कपिलवस्तु र नवलपरासीका लागि वरदान हो । सुख्खा बन्दै गएको यस क्षेत्रलाई तिनाउ डाइभर्सनले सिञ्चित गर्छ । अन्य ठाउँहरूमा पनि डाइभर्सनहरू बनाउन आवश्यक छ ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले कालीगण्डकी तिनाउ डाइभर्सन बन्न नदिने बताउँदै आएका छन् । पूर्वमन्त्रीसमेत रहेका नेता खाँणले गुणस्तर मापन गरेर मात्र फलफूल र तरकारी आयात गर्न सरकारलाई आग्रह गरे । रूपन्देहीको तिलोत्तमा हरेक किसिमबाट सम्भावना भएको नगरपालिका भएको उल्लेख गर्दै तिलोत्तमालाई अर्ग्यानिक तरकारी उत्पादन गर्न सकिने बताए ।

तिलोत्तमा नगरलाई आत्मनिर्भर नगरको रूपमा विकास गर्न सकिने र त्यसका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई भित्र्याउन आग्रह गरे । आर्थिक समृद्धिका लागि सबै मिल्नु पर्नेमा उनले जोड दिए । नेता खाँणले प्रदेश नम्बर पाँच नेपालको मध्यभागमा रहेकाले विकासका लागि सम्भावित रहेको उल्लेख गर्दै सक्षम र आर्थिक रूपले बलियो प्रदेश बनाउन सकिने बताए । राजनीतिक परिवर्तनसँगै देश नयाँ संरचनाबाट अगाडि बढेको उल्लेख गर्दै धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, विभिन्न वर्ग समूदायको विविधतालाई संस्थागत गर्नुपर्ने उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्