काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ समुदायलाई होच्याउने गरी आफूले कुनै अभिव्यक्ति नदिएको स्पष्ट गरेका छन् ।
शनिवार बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले आफूले बोलेको कुरालाई मिडियाले गलत व्याख्या गरेको बताएका हुन् ।
नेकपा सांसद शान्ति माया पाख्रीनले जवाफ माग गरेपछि प्रचण्डले जवाफ दिएका हुन् । ‘कुनै पनि जात र धर्मबारे बोल्दा हाम्रा नेताहरू सम्हालिएर बोल्दा उपयुक्त हुन्थ्यो, अध्यक्षज्यूको भनाइले तामाङ समुदायलाई चोट पुगेको छ,’ सांसद पाख्रीनले भनेकी थिइन् ।
त्यसपछि प्रचण्डले बोल्नको लागि समय माग्दै स्पष्टीकरण दिएका हुन् । ‘मैले जसरी बोलेको थिए, मिडियामा गलत ढंगले व्याख्या भयो । कुनै समुदायको भावनामा चोट पुग्ने कुरा मबाट हुँदैन,’ प्रचण्डले भने ।
प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को प्रसंगमा बोल्दै प्रचण्डले एक कार्यक्रममा तामाङ युवतीलाई काठमाडौं देखाउने भन्दै नयाँदिल्ली पुर्याउने गरेका दलालले झैं प्रचण्डले पनि माओवादी आन्दोलनलाई त्यसै गरेको हो कि भनेर विप्लवले जिज्ञासा राख्ने गरेको खुलासा गरेका छन् ।
बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रका असन्तुष्टि बाहिर नपोख्न सांसदलाई निर्देशन दिएका थिए ।