३१ असार २०८३, बुधबार

वैदेशिक रोजगारी : वर्षौं काम, फर्कने बेलामा रित्तो हात !

वैदेशिक रोजगारी : वर्षौं काम, फर्कने बेलामा रित्तो हात !

काठमाडौँ -तपाईंका आफन्त, साथीभाइ, छरछिमेकी रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक पुगेको त देख्नुभएकै होला । विदेशमा काम गर्न गएका उनीहरुले पक्कै पनि राम्रै कमाई गरिरहेका छन् भन्ने लगभग सबैको अनुमान हुन्छ । वैदेशिक रोजागरीमा जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, पर्याप्त सेवासुविधा अनि... यस्तैयस्तै अवसर प्राप्त गर्दछन् आम मानिसको बुझाइ पाइन्छ ।

चर्को ब्याजको भारी बोकेर ठूलो धनराशि खर्चदैँ विदेशिएका युवाले वर्षौंवर्ष काम गर्दा पनि रित्तो हात फर्कनुपर्ने तीतो यथार्थ भने कमैले सुनेका हुन्छन् । अझै पनि सम्झौताअनुसारका काम र पारिश्रमिक प्राप्त गर्ने अवस्थाबाट वञ्चित हुनु सामान्य नै देखिएको छ ।

राम्रो कमाउने, घरपरिवारलाई सुखसाथ पाल्ने, सन्तानलाई उचित शिक्षादीक्षा दिने अभिलाषा राखी उडेका सयौँ नेपालीका सपना अझै पनि खाडीलगायत कतिपय गन्तव्य मुलुकमा ‘उडेका उड्यै’ छन् । कति त सपनालाई सधैँका लागि छाडेर बन्द बाकसमा फर्किन विवश छन् ।

यस्तै दैनिक गर्जो टार्न साउदी अरेबिया भासिएका सर्लाहीको तत्कालीन ब्रह्मपुरी गाविस–६ का ३६ वर्षीय सोमन साह रौनियार ४० महीनापछि झण्डै रित्तै स्वदेश फिरेका छन् । साउँ–अक्षर नचिनेका उनले एजेण्टले थमाइदिएको श्रम स्वीकृति, करारपत्र र हवाई टिकटका भरमा साउदी उडे । एजेण्टले उनलाई ‘सेल्स म्यान’को काम भन्दै कृषि मजदूरको सम्झौता हातमा थमाइदिएको थियो ।

रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेबित्तिकै रौनियारलाई सो स्थानबाट करीब ३ सय ३५ किलोमिटर टाढा जङ्गलमा लगियो । त्यतिबेलै उनलाई मनमा लागेको थियो, 'सेल्स म्यानको कामका लागि जङ्गलमा त नलैजानुपर्ने ।' जङ्गलमा लगेपछि उनलाई जबर्जस्ती खेतीपातीको काम गर्न लगाइयो तर विना पारिश्रमिक । दुई वर्षको प्रवेशाज्ञा र श्रम स्वीकृति लिएर गएका रौनियारलाई मुबारक फार्मले जबर्जस्ती झण्डै साढे तीन वर्ष काममा लगायो ।

मासिक साउदी रियाल एक हजार पारिश्रमिक र खाना–बस्न साउदी रियाल २०० दिने सम्झौता भए पनि उनले कुनै महिना पनि सम्झौताअनुसारको पारिश्रमिक प्राप्त गरेनन् । 'सम्झौतामा उल्लेख भएअनुसार मैले झण्डै साउदी रियाल ५० हजार प्राप्त गर्नुपर्ने थियो,' अलपत्र कामदारको उद्धार तथा पुनस्र्थापनामा क्रियाशील प्रवासी नेपाली समन्वय समितिले आयोजना गरेको कार्यक्रममा रौनियारले भने, 'मैले विभिन्न चरणमा गरेर साउदी रियाल २१ हजार २ सय ५० मात्र पाएको छु ।'

जङ्गलको बीचमा रहेको कृषि फार्ममा आफूलाई जबर्जस्ती काममा लगाइएको उनले बताए । 'कहिले खेतमा ट्र्याक्टरले जोत्न लगाउँथ्यो,' उनले भने, 'कहिले ऊँट, बाख्रा हेर्न लगाउँथ्यो ।' रौनियारले दुई वर्षको करार अवधि सकिएपछि नेपाल फर्कन्छु भन्दा आफूलाई मालिकले फार्मबाट बाहिर निस्कन नदिएर बन्दी बनाएको बताए ।

उनले पारिश्रमिक प्राप्त गर्ने आशामा आफू सो कम्पनीबाट भाग्न नसकेको सुनाए । उक्त फार्ममा छ जना नेपाली काम गर्दै आएका थिए । अन्य मुलुकबाट गएको श्रमिकलाई पनि जबर्जस्ती काममा लगाइएको उनको भनाइ छ । छ महीनाअघि रित्तो हात स्वदेश फर्केका रौनियार खाडीमा बगेको रगत र पसिनाको मूल्य खोज्न म्यानपावरको ढोका ढक्ढक्याउन राजधानीमा पापड पेल्दै छन् ।

उनी कसमस नेपाल ह्युमन रिसोर्सेस प्रालिबाट २०७२ सालमा साउदी उडेका थिए । यसैगरी मोरङका २९ वर्षीय दिनेश खड्का, धनुषाका ४९ वर्षीय रोशन प्रमानीलगायत युवा खाडीमा बगेका पसिनाको मूल्य खोज्दै कागजको ठेली बोकेर म्यानपावर धाइरहेका छन् ।

'न त पैसा कमाइयो, न त साथमा पैसा नै छ,' राजधानीस्थित प्रवासी नेपाली समन्वय समितिको आश्रयस्थलमा बस्दै आएका प्रमानीले भने, 'सयकडा तीनका दरले ऋण काडेर विदेश गइयो, रित्तै हात फिर्नु परेको छ, अब कसरी घर जाऊँ ।'

म्यानपावरले भने एक साताभित्र बाँकी रकम उपलब्ध गराइदिने वचन दिएको छ । रित्तो हात फिर्न विवश नेपालीलाई समितिले पसिनाको मूल्य खोज्न कानूनी सहायता उपलब्ध गराएको छ । उनीहरू अहिले समितिको आश्रयमा बस्दै आएका छन् ।

पारिश्रमिक नपाउने घटना कतारमा बढी सन् २०१८ मा गन्तव्य मुलुकका विभिन्न कम्पनीमा काम गर्दा पारिश्रमिक नपाएको भन्दै समितिमा २५४ वटा घटना दर्ता भएको थियो । दर्ता भएका २ सय ५४ मध्ये १ सय  घटनालाई आधार बनाएर गरिएको नमूना अध्ययनमा सबैभन्दा बढी कतारमा काम गर्ने २९ नेपाली कामदारले पारिश्रमिकबाट वञ्चित भएको पाइएको छ ।

त्यस्तै साउदी अरबमा २५, मलेसियामा २१, संयुक्त अरब इमिरेट्स्मा १३, कुवेतमा छ, अल्जेरियामा पाँच र माल्दिभ्समा एक जनाले पारिश्रमिक प्राप्त नगरेको पाइएको समितिले जनाएको छ । अध्ययनका क्रममा ६७ जनाले कम्पनीको लापरवाहीका कारण आफूहरुले पारिश्रमिक नपाएको बताएका थिए ।

त्यस्तै १५ ले कम्पनीमा काम नभएकाले तथा आठ जनाले फरक कामको विरोध गरेकाले आफूहरुलाई पारिश्रमिकबाट वञ्चित गराइएको बताएका थिए । ‘प्रवासी कामदारका लागि प्रवासी कामदारद्वारा’ सन् २००९ मा स्थापित समितिले हालसम्म एक लाख २० हजारभन्दा बढी आप्रवासी कामदारको उद्धार तथा राहतमा सहजीकरण गरिएको जनाएको छ ।

स्थापनाकालदेखि नै विपदमा परेका प्रवासी कामदारको उद्धार तथा पुनस्र्थापनामा क्रियाशील समितिले हालसम्म ५०० भन्दा बढी प्रभावित कामदारलाई आवास सुविधा प्रदान गरेको छ । समितिले प्रवासमा अलपत्र परेका नेपाली कामदारको उद्धार तथा स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण, सुरक्षित वैदेशिक रोजगारका बारेमा जनचेतामूलक कार्यक्रम सञ्चालन, पैरवी तथा वकालत, शैक्षिक सहयोग तथा कानूनी प्रक्रियाका लागि सिफारिसलगायत गतिविधि गर्दै आएको अध्यक्ष कुलप्रसाद कार्कीले बताए । अशोक घिमिरे/ रासस 

salt training

कमेन्ट गर्नुहोस्