२१ जेठ २०८३, बिहीबार

हावाबाट बिजुली निकालेर गाउँ नै झलमल्ल !

हावाबाट बिजुली निकालेर गाउँ नै झलमल्ल !
प्रतिकात्मक तस्वीर

पाल्पा – जिल्लाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । 

हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागरिकलाई उज्यालोमा राख्ने तयारी छ । सौर्य ऊर्जाको सेवा असारको अन्तिमसम्ममा सञ्चालन हुने भएको छ ।

यसअघि १ हजार २ सय किलोवाट क्षमतामा हावाबाट बिजुली उत्पादन सफल भएको थियो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा हावा र सौर्य ऊर्जाबाट विद्युत् सेवा दिने गरी काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए ।

यसअघि रुक्सेभज्याङको बजारक्षेत्र र वडा नम्बर ४ को वडा कार्यालयमा विद्युत् सेवा पुगेकामा अब स्थानीय ३ गाउँका करीब १८० घरधुरीलाई सेवा दिने लक्ष्य रहेको वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २ करोड रुपैयाँ, गाउँपालिकाको ४२ लाख रुपैयाँ, स्थानीय बासिन्दाको जनश्रमदान गरी करीब ३ करोड रुपैयाँको लागतमा २५ किलोवाट क्षमताको विद्युत् सेवा उपलब्ध गराउने तयारी भएको अध्यक्ष सुनारीको भनाइ छ ।

अहिले हावाबाट विद्युत् उत्पादनका लागि ५ र १० किलोवाट क्षमताका पंखा जडान गरिएको छ । विद्युत् गृह निर्माण, पोल तथा तार विस्तारको काम तथा घरघरमा ‘वाइरिङ’को काम सकिएको र अब ब्याट्री जडानको काम मात्र बाँकी रहेको समितिले जनाएको छ ।

हावा र सौर्यशक्तिबाट १२ महिना ब्याट्री चार्ज हुने भएकाले विद्युत् जाने समस्या पनि कम हुने गाउँपालिकाले जनाएको छ । यसअघि हावाबाट विद्युत् सेवा हावादारी कुराजस्तो ठाने पनि सेवाप्रवाह राम्रो भएको स्थानीय सन्तवीर सुनारीले बताए ।

मित्यालमा पुनः सेवा थप हुने र डाँडाभेगका स्थानीयवासी उज्यालोमा जीवनयापन गर्न पाउने भएपछि स्थानीय खुशी भएका छन् । पाल्पा सदरमुकामबाट करीब ७० किलोमिटर पूर्व विकट भेग मित्यालमा विद्युत् सेवा नपुगेर अँध्यारोमा बसेका स्थानीयवासी असार मसान्तभित्र हावा र सौर्य ऊर्जाबाट बिजुली बल्छ भन्नेमा ढुक्क छन् ।

salt training

कमेन्ट गर्नुहोस्