
काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनस् लि. युवा विद्यार्थी माझ रहेको सेल्स र मार्केटिङ सम्बन्धी ज्ञान, सीप र क्षमतालाई उजागर गर्ने प्रमुख लक्ष्यका साथ मार्केटिङ एक्सिलेन्स प्रतियोगिता अयोजना गरेको छ ।
प्रतियोगितामा उपत्यका र उपत्यका बाहिरका २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले सहभागीता जनाएका थिए । सहभागी विद्यार्थीलाई सेल्स र मार्केटिङ लगायत विविध क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नको लागि मार्गदर्शकको भूमिका निर्वाह कम्पनीले गरेको थियो ।
विद्यार्थीहरूले अन्तरक्रियात्मक कार्यक्रमको माध्यमबाट व्यवसायको बारेमा सिक्ने र सफलताका कथाहरू मार्फत आफूमा प्रेरणा जागृत गराउने अवसर पाएको कम्पनीले जनाएको छ । यति मात्र नभई विद्यार्थीहरूले विभिन्न विषय र क्षेत्रका विज्ञहरूबाट प्रतियोगिताका प्रत्येक शीर्षकमा सल्लाह र सुझाव हासिल गरेका थिए । साथै प्रत्येक टीमलाई प्रतियोगिता अवधिभर गाइड गर्नको लागि गाइड निर्देशकको पनि प्रबन्ध मिलाइएको थियो ।
प्रतियोगीहरूले प्रतियोगिता अवधिभर सेल्स र मार्केटिङ रणनीति निर्माण गर्नको लागि विभिन्न समयमा दुरसञ्चार एवम् आइटी कम्पनीहरूको भ्रमण गरेका थिए । उक्त अध्ययन अनुसन्धानबाट आएको निष्कर्षलाई प्रतियोगीहरूले आफ्नो प्रोजेक्टको रूपमा प्रस्तुत गर्नुपर्ने प्रमुख कार्य रहेको थियो । यस प्रतियोगितामार्फत विद्यार्थीहरूले सेल्स र मार्केटिङको क्षेत्रमा केही सिक्ने र सिकेका कुराहरूबाट रणनीति निर्माण गर्न सक्षम बन्ने अवसर प्राप्त गरेका थिए ।
यस प्रतियोगिताको समय अवधि जुन १, २०१९ बाट शरू भएर ३७ दिनसम्म चलेको थियो । सेमिफाइनल चरणको कार्यक्रम जुलाई ४ मा उत्कृष्ट ८ कलेजलाई चयन गरी सम्पन्न गरिएको थियो भने फाइनल चरणको कार्यक्रम आइतवार होटल हिमालयनमा सम्पन्न गरिएको थियो ।
उक्त प्रतियोगिताको विजेता एस इन्टरनेशनल बिजनेस स्कूल भएको छ । प्रतियोगितामा उल्लेख गरिएका कार्यप्रति पूर्ण समर्पित भइ कडा परिश्रमको साथ उत्कृष्ट रणनीतिहरू प्रस्तुत गरेबापत एस इन्टरनेशनल बिजनेस स्कूलले प्रथम स्थान हासिल गरेको हो । कलेजले प्रथम पुरस्कार स्वरूप २ लाख ५० हजार नगद प्राप्त गरेको छ । त्यसैगरी जेनिथ इन्टरनेशनल कलेज र नेपाल कर्मश क्याम्पसले क्रमसः दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए । उनीहरूले एक लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । यस प्रतियोगिताको सम्मानित एवम् निष्पक्ष निर्णायक मण्डलको भूमिकामा दिलिप अग्रवाल, बिन्दु नाथ लोहनी र प्रदीपराज पाण्डेको सहभागिता रहेको थियो ।