
काठमाडौं – नेदरल्यान्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले कंगोका विद्रोही प्रमुखलाई युद्धअपराधको दोषी ठहर गरेको छ ।
बस्को न्तागान्डा नामक ती व्यक्तिले नागरिकहरूको नरसंहार गरेको र यौनदासी बनाएको पाइएको हो ।
उनको नेतृत्वमा रहेका सैनिकहरूले शिशु र बालबालिकाहरूको भुँडी फुटाएर वा टाउको कुच्याएर समेत मारेको पाइएको छ ।
यी ४५ वर्षीय युद्धअपराधीले बालसैन्य भर्ती गर्ने अनि गैरलडाकूहरूलाई तारो बनाएर मार्ने आदेश र्दिका थिए । कंगोको इटुरी क्षेत्रमा सन् २००२ र २००३ मा उनले यस्ता कुकर्म गरेका थिए ।
न्तागान्डालाई युद्धअपराध तथा मानवताविरुद्धको अपराधका १८ वटा उल्लंघनको दोषी पाइयो ।
‘न्तागान्डाले युद्धअघि सैनिकहरूलाई संगठन गर्ने, कारवाहीका बेलामा सैनिकहरूलाई प्रत्यक्ष आदेश दिने र पछि उनीहरूबाट रिपोर्ट लिने गरेका थिए,’ मुख्य न्यायाधीश रोबर्ट फ्रेमरले भने ।
रुवान्डामा जन्मेका न्तागान्डालाई पछि सजाय सुनाइनेछ । पीडितहरूको कुरा सुनेपछि सजाय दिइने हो । उनलाई जन्मकैदको सजाय दिइन सक्ने सम्भावना छ ।
एजेन्सी