
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ ।
नेविसंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत मंगलबार प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल उपहारस्वरूप पठाएको हो । भारतबाट आयात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध घोषणा गरिएको चरणबद्ध आन्दोलनअन्तर्गत प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
गत आइतवार नेविसंघले मंगलबार देशभरिका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने घोषणा गरिएको थियो । आन्दोलन अन्तरगत नेविसंघले सोमवार देशभरका क्याम्पस अगाडि विषाक्त तरकारी तथा फलफूल प्रदर्शन गरेको थियो ।
बुधवार विषाक्त तरकारी, फलफूल बहिष्कार कार्यक्रम तथा प्रचार–प्रसार र पर्चा वितरण गरिने नेविसंघले जनाएको छ । नेविसंघले असार २६ गते मसाल जुलुस र असार २७ गते माइती घरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने भएको छ ।