काठमाडौं- अभिनेत्री शिल्पा पोखरेलले शान्ति सुरक्षा पाउँ भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
उनले श्रीमान् छविराज ओझाबाट असुरक्षा भएको भन्दै प्रहरीसँग शान्ति सुरक्षा पाउँ भनी उजुरी दिएकी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, 'यस विषयमा हामीले बुझिरहेका छौं । दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं ।'
केही समयदेखि उनीहरूको सम्बन्धमा खटपट भएको बताइएको छ ।
फिल्म निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलले २०७३ सालमै विवाह गरेपनि गत वर्षमात्रै यसबारे खुलाएका थिए ।
शिल्पाले छविराजकै फिल्म 'लज्जा'मार्फत चलचित्रमा अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । त्यसपछि छविराज नै निर्माता रहेको फिल्म ‘हवलदार सुन्तली’ र ‘मंगलम’मा पनि शिल्पाले अभिनय गरेकी थिइन् ।