१४ असार २०८३, आइतबार

घोडाघोडी र शिवपुरी धामको गुरूयोजना आयो

असार २५, २०७६
घोडाघोडी र शिवपुरी धामको गुरूयोजना आयो

धनगढी- कैलाली जिल्लाको २ पर्यटकीय स्थलको गुरूयोजना सार्वजनिक गरिएको छ । विश्व रामसार सुचीमा सूचीकृत घोडाघोडी तालको प्रवेशद्धार क्षेत्र र धनगढी उपमहानगरपालिका–४ स्थित शिवपुरी धाम अन्तरगतको बाल उद्यनको गुरूयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको हो ।

घोडाघोडी नगरपालिका अन्तर्गतको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले गुरूयोजना अनुसार तत्काल निर्माण कार्य अगाडी बढाइने जनाइएको छ । बोर्डका उपाध्यक्ष दयाराम चौधरीका अनुुसार पूर्व–पश्चिम महेन्द्र राजमार्ग संग जोडिएको तालको प्रवेश क्षेत्रमा पानी निकास गेट, पार्क, ताल अवलोकन स्थल, काठे पूल, पानी फोहरा, विश्राम स्थलसहितका संरचना निर्माण गरिने भएको छ । गुरूयोजना अनुुसारको संरचना निर्माणमा २ वर्ष लाग्ने बताउँदै बोर्डका उपाध्यक्ष चौधरीले जसको एक करोड ९० लाख लागत अनुुमान गरिएको जनाए ।

घोडाघोडी नगरपालिकाले समग्र ताल तथा सिमसार क्षेत्रको पनि गुरूयोजना निर्माणको कार्य अगाडी बढाएको छ । आउँदो फागुुनभित्र बृहत घोडाघोडी ताल तथा पर्यटन क्षेत्रको गुरूयोजना तयार गरिने जनाइएको छ । तालको संरक्षण, सम्वद्र्धन तथा पर्यापर्यटन गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाले जर्मन सहयोग नियोग (जिआइजेड) को सहयोगमा १० वर्षे गुरूयोजना निर्माण प्रक्रिया बढाएको हो । घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले तालको संरक्षण र सम्वद्र्धन गरी पर्यटन विकासको लागि गुरूयोजना कोसेढुंगा सावित हुने बताए ।

लामो प्रयासपछि निर्माणको काम सुरु भएको बताउँदै उनले पर्यापर्यटनलाई आधार बनाएर निर्माण हुने गुरूयोजनाले आयआर्जनको वातावरण सिर्जना गर्नेमा पनि आशा व्यक्त गरे । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनासहित बन्ने गुरूयोजनाले यहाँको मुहार फेरिने पनि नगरप्रमुख चौधरीको भनाई थियो ।

त्यस्तै, धनगढी उपमहानगरपालिकाले शिवपुरी धाम बाल उद्यानको गुरूयोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको हो । शिवपुरी धाममालाई पनि पर्यटन गन्तव्य बनाउने भन्दै धनगढी उपमहानगरपालिकाले बाल उद्यानको गुरूयोजना तथा डिपिआर ल्याएको बताएको छ । ड्रिम प्लानर ईन्जीनियरिङ्ग सर्भिसेज अत्तरिया कैलालीले गत जेठ महिनादेखि स्थलगत अध्ययन÷अनुगमन गरी गुरूयोजना बनाएको थियो ।

सो कन्सल्टेन्सीका ईन्जीनियर लोकराज भट्टका अनुसार गुरू योजनामा पाकिंङ्ग स्थल, स्वीमिङ पूल, चिल्ड्रेन पार्कलगायतका संरचनाहरु रहेका छन् । सबै संरचना बालमैत्री रहने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । मन्दिर क्षेत्रको गुरू योजना यस अघि नै निर्माण भैसकेको नगरप्रमुख वडले बताए । संरचना निर्माणका लागि भ्याटबाहेक १३ करोड ४८ लाख ३५ हजार बजेट आवश्यक हुने जनाइएको छ । यसको क्षेत्रफल १ सय ४७ रोपनी रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्