
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको कामलाई बिट मारिसकेपनि स्वास्थ्य सेवातर्फका अधिकांश कर्मचारीले अझै समायोजन तथा पदस्थापनाको पत्र पाएका छैनन् ।
सरकारी चिकित्सकको आन्दोलन, ठूलो संख्यामा पद तथा प्राविधिक जटिलताका कारण स्वास्थ्यतर्फको समायोजन शुरूबाटै निकै चूनौतीपूर्ण बन्दै आएको छ ।
सामान्य प्रशासन मन्त्रालयले गत चैत १४ गते समायोजन सकिएको घोषणा गरेकै दिन बिहान मात्र स्वास्थ्यतर्फका कर्मचारीको समायोजन विवरण सार्वजनिक भएको थियो ।
समायोजनमा चित्त नबुझेकाहरूको गुनासो सुन्न मन्त्रालयले गुनासो व्यवस्थापन समिति समेत गठन गर्यो ।
समितिमा स्वास्थ्यतर्फका १२ हजार ३ सय ६ वटा गुनासा आए । यो स्वास्थ्यतर्फ समायोजित कूल संख्याको करीब ४० प्रतिशत हो । त्यसमध्ये ८ हजार ७ सय ५४ गुनासो सम्बोधन भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
संघीय मामिला मन्त्रालयमा गुनासो गर्ने बाटो बन्द भइसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयमा भने गुनासो रोकिएको छैन ।
स्वास्थ्य मन्त्रालयमा गुनासो सुन्न भ्याइ–नभ्याइ !
बिहीवार दिउँसो २ बजेतिर स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठको कार्यकक्षमा पुग्दा ५/७ जना भित्रै बसिरहेका थिए ।
श्रेष्ठले पालैपालो गुनासो सुने । एक जनाले भने, ‘मेरो घर सुनसरी । समायोजन गौरीशंकर गाउँपालिका (दोलखा) मा भयो । मलाई प्रदेश १ मा पारिदिनुस् ।’
श्रेष्ठले जवाफ फर्काए, ‘एउटा निवेदन दिएर जानुस्, दरबन्दी रिक्त रहेछ भने हामी हेर्छौं ।’
केहीबेरमा सांसदको ‘रिफरेन्स’ लिएर अर्का एक व्यक्ति भित्र छिरे । उनको माग पोखरा वा भरतपुर महानगरपालिकामा पारिदिनुस् भन्ने थियो । उनले स्वास्थ्य मन्त्रालयमा निवेदन समेत दर्ता गराइसकेका रहेछन् ।
उनको योग्यता अनुसारको पदमा भरतपुरमा दरबन्दी रिक्त नरहेको भन्दै श्रेष्ठले सोधे, ‘पोखरामा रिक्त छ ?’ ती व्यक्तिले छ त भने तर यकिन गर्न सकेनन् ।
त्यसपछि श्रेष्ठले जवाफ दिए, ‘हामी सकेसम्म गर्छौं । संघीय मामिला मन्त्रालयले गरेकोमा हामीलाई धेरै अधिकार त छैन तर दरबन्दी रिक्त रहेछ भने मिलाइदिन्छौं । मान्यज्यूले पनि फोन गर्नुभएको थियो ।’
औपचारिक रूपमा गुनासो आह्वान नगरिए पनि आएका गुनासोलाई सम्भव भएसम्म सम्बोधन गर्ने प्रयास गरिरहेको श्रेष्ठले लोकान्तरलाई बताए ।
प्रशासनतर्फका सहसचिव जनार्दन गुरागाईंले उमेर हदका कारण असार तेस्रो साताबाट अवकाश पाएकाले समायोजनसम्बन्धी पत्रमा हस्ताक्षर गर्ने जिम्मा श्रेष्ठले नै पाएका छन् ।
बिहीवार आफूलाई भेट्न आएका कर्मचारी तथा सेवाग्राहीसँग कुरा गरिरहँदा पनि श्रेष्ठ भने सातौं तहका कर्मचारीको समायोजन तथा पदस्थापनासम्बन्धी पत्रमा हस्ताक्षर गरिरहेका थिए । करीब २० मिनेट बस्दा उनको हात खाली देखिएन ।
११ औं तहको अन्तिम सूची सार्वजनिक, अधिकांश संघमा !
स्वास्थ्य मन्त्रालयले ११ औं तहका १ सय ५४ जनाको सूची सार्वजनिक गरेको छ । तीमध्ये अधिकांश संघ र केही प्रदेशमा समायोजन भएका छन् ।
आठौं, नवौं र दशौं तहका कर्मचारीको समायोजन समेत करीब टुंगिएको छ । यद्यपि उनीहरूले समायोजनको पत्र पाएका छैनन् । उक्त सूची छिट्टै वेबसाइटमा पनि सार्वजनिक हुने प्रवक्ता श्रेष्ठले बताए । त्यसभन्दा तल्ला तहको भने प्रक्रियामा छ ।
केही साना समूहको समायोजन भने सम्पन्न भएको प्रवक्ता श्रेष्ठले बताए ।
औषधि व्यवस्थापक, ईसीजी टेक्निसियन, एनेस्थेटिक सहायक, डाइटिसियन सुपरभाइजर, बायो मेडिकल टेक्निसियन, हाउस किपिङ सुपरभाइजर, जुनियर मेडिकल रेकर्डर्स असिस्टेन्ट, मलेरिया इन्सपेक्टर, फार्मेसी सुपरभाइजर र डाइटिसियन सुपरभाइजरको समायोजन सूची पनि मन्त्रालयको वेबसाइटमा अपलोड भइसकेको छ ।
पद धेरै हुँदा समस्या !
समायोजनमा भएको त्रुटि र जटिलताबारे प्रस्ट्याउँदै प्रवक्ता श्रेष्ठले भने, ‘हामीकहाँ पद नै ४ सय १९ वटा छन् । ३० समूह र ५९ उपसमूह छन् । एकै दरबन्दीमा ५ जनासम्मको समायोजन भएको छ ।’
भएका त्रुटि र सम्भव भएसम्मका गुनासो सम्बोधन गर्ने र समायोजनसम्बन्धी पत्रमा हस्ताक्षर गरेर रमाना दिनेबाहेक अन्य अधिकार आफूहरूलाई नभएको उनले प्रस्ट्याए ।
स्वास्थ्यतर्फ २७ हजार ५०० दरबन्दी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको सूची सार्वजनिक गर्दा स्वास्थ्यतर्फ २७ हजार ३ सय २ कर्मचारीको समायोजन भएको उल्लेख थियो ।
समायोजनको सूचीअनुसार संघमा २ हजार ७५, प्रदेशमा २ हजार ३ सय ९४, स्थानीय तहमा २२ हजार १ सय ७६ र फाजिलमा ६ सय ५७ जना थिए ।
सामान्य प्रशासन मन्त्रालयले नै पछि ८ हजार ७ सय ५४ जना कर्मचारीको गुनासो सम्बोधन गर्दा माथिको तथ्यांकमा केही हेरफेर भएको छ ।
स्वास्थ्य मन्त्रालयमा आएका गुनासो समेत सम्बोधन गर्दा स्थानीय तहमा समायोजन हुने कर्मचारीको संख्या करीब २२ हजार, प्रदेशमा करीब ३ हजार र स्थानीय तहमा करीब २५ सय हुनसक्ने प्रवक्ता श्रेष्ठले बताए।
११ औं तहका ७ सहित करीब सय जना संघको फाजिलमा
प्रवक्ता श्रेष्ठका अनुसार करीब १०० जना फाजिलमा छन् । स्वास्थ्य मन्त्रालयले ११ औं तहका १५४ जनाको समायोजनलाई अन्तिम रूप दिँदा उक्त तहमा मात्र ७ जना फाजिलमा परेका छन् ।
फाजिलमा रहेकाहरूलाई संघ मातहत नै राखिएको छ । फाजिलमा रहेकाहरूको संख्या करीब सय जति बाँकी छ । ‘एमडी, पीएचडी गरेका विशेषज्ञ चिकित्सकहरूलाई स्थानीय तहमा पठाउन मिलेन, उहाँहरू संघमै फाजिलमा हुनुहुन्छ,’ श्रेष्ठले भने, ‘संघको फाजिलमा रहेकाहरूको संख्या करीब सय जति होला ।’
समायोजनसम्बन्धी सम्पूर्ण काम सम्पन्न गर्न करीब १ महिना जति लाग्ने प्रवक्ता श्रेष्ठले बताए ।