
काठमाडौं– बाढी पीडितको उद्धार र राहातमा ध्यान केन्द्रीत गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले सोमवार प्रतिनिधि सभामा स्थगन प्रस्ताव दर्ता गराएका छन् ।
सर्लाहीमा भएका दुई वटा गोली काण्डको छानविनका लागि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गरेका कांग्रेस र राजपाले स्थगन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।
बाढी पीडितको उद्धारमा ध्यान केन्द्रीत गर्न भन्दै कांग्रेस सांसद डा. मीनेन्द्र रिजाल प्रस्तावक र राजपाका राजकिशोर यादव समर्थक रहने गरी स्थगन प्रस्ताव दर्ता गरिएको हो ।
प्रस्तावमा भनिएको छ, 'विगत पाँच दिन देखिको अविरल वर्षा र यसका कारण आएको बाढी, पहिरो र डुवानका कारण देशभरिका तीस भन्दा बढी जिल्लाहरुमा करिब पाँच दर्जन नागरिकले ज्यान गुमाउनु परेको, झण्डै त्यतिनै संख्यामा वेपत्ता भएको, सयौं नागरिक घाइते भएको, दशौं हजार नागरिक प्रत्यक्ष प्रभावित भएको, महत्वपूर्ण राजमार्गहरु अवरुद्ध भएको, विभिन्न स्थानमा विद्युत सेवा लगातार रुपमा अवरुद्ध भएको, कतिपय स्थानमा उद्दार कार्यमा संलग्न सुरक्षाकर्मी समेत सम्पर्क विहिन भएको, दशौं करोड मूल्य बराबरको घर, खेत, धनमाल, बालि नष्ट भएको वर्तमान अवस्थामा यस गम्भीर विषयमा हालसम्म नेपाल सरकारद्वारा संचालित उद्धार, राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रहरुको विद्यमान अवस्थाबारे प्रतिनिधि सभामा जानकारी लिने, प्रतिनिधि सभाका माननीय सदस्यहरुबाट प्रभावित क्षेत्रबारे सरकारलाई सूचना उपलब्ध गराउने, तीनै तह केन्द्र, प्रदेश र स्थानीय सरकारद्वारा संचालित उद्धार, राहत र त्यसपछिको पुनस्र्थापनाको एकीकृत कार्यक्रम निर्माण गर्न नेपाल सरकारलाई नीतिगत निर्देशन तथा आवश्यक सहयोग पुर्याउने तथा प्रतिनिधि सभाका माननीय सदस्यहरुलाई उद्धार, राहत र पुनस्र्थापनाको कार्यमा संलग्न गराउने व्यवस्था गर्ने उद्देश्यले यस अत्यन्त जरुरी सार्वजनकि महत्वको विषयमा आज मिति २०७६ आषाढ ३० गतेको बैठकमा छलफल गर्नका लागि प्रतिनिधि सभामा आज २०७६ आषाढ ३० गतेको लागि निर्धारित सबै कार्यक्रम स्थगित गरियोस् भनि प्रतिनिधि सभा नियमावलीको नियम ७८ को उपनियम ९१० को व्यवस्था बमोजिम स्थगन प्रस्तावको सूचना पेश गर्दछौं ।'
स्थगन प्रस्ताव बाहेक अन्य कार्यसूचीमा राखिएमा आफूहरूको अवरोध कायम रहने राजपा नेता लक्ष्मणलाल कर्णले लोकान्तरलाई जानकारी दिए । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली २०७४ को नियम ७८ मा अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने व्यवस्था छ ।

स्थगन प्रस्तावमा छलफल भएर बैठक स्थगित भएमा सांसदहरू बाढी पीडितको राहत र उद्धारका लागि जिल्लामा जान पाउने कर्णले बताए । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।