काठमाडौं – दलाई लामाको छनोटका विषयमा चीनले भारतलाई चेतावनी दिएको छ ।
चीनका अधिकारीहरूले बताएअनुसार, दलाई लामाका उत्तराधिकारीका विषयमा चीनभित्र नै निर्णय लिनुपर्ने र यस विषयमा भारतले कुनै पनि किसिमको हस्तक्षेप गरेमा द्विपक्षीय सम्बन्धमा असर पर्ने पक्का छ ।
दलाई लामाको उत्तराधिकारीलाई चीन सरकारको मान्यता आवश्यक हुने र दलाई लामाको छनोट देशभित्रको २०० वर्ष पुरानो ऐतिहासिक प्रक्रियाअन्तर्गत हुनुपर्ने चीनका वरिष्ठ अधिकारीहरूको भनाइ छ ।
दलाई लामाको उमेर ८४ वर्ष पुगेको छ र उनको उत्तराधिकारीको विषय विगत केही वर्षयता चर्केको छ ।
बेइजिङमा चिनियाँ सरकारले सञ्चालन गर्ने प्रभावशाली थिंक ट्यांक चाइना तिब्बतोलोजी रिसर्च सेन्टरका निर्देशक झा ल्यु ने वाङले भने, ‘भारतले दलाई लामाको उत्तराधिकारीका विषयमा केही बोले राजनीतिक मतभेद हुनेछ र द्विपक्षीय सम्बन्धमा असर पर्नेछ ।’
दलाई लामाको उत्तराधिकारीलाई भारतले मान्यता नदिएमा के गर्ने भनी सोधिएको प्रश्नमा वाङले भने, ‘यो विषय चीनका लागि महत्त्वपूर्ण भएकाले मित्र देशहरूले यसमा दखल दिने छैनन् ।’
एजेन्सी