
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भित्रका कुनै पनि मुख्य राजमार्ग बीढीपहिरोका कारण लामो समयसम्म अवरोध उत्पन्न हुन नदिन निर्देशन दिएका छन् ।
राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट डोल्पा सडकमा डोजरसहितको टोलीलाई हरेक ४० किलोमिटरको दुरीमा क्याम्प खडा गरेर वस्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन समेत दिएका हुन् ।
‘बाढीपहिरोका कारण आवागमन रोकिनु हुँदैन, बाढीपहिरोको समस्या आउने बित्तिकै सुचारु हुनुपर्छ,’ उनले भने, ‘कर्णालीका दुर्गम जिल्लामा उद्धारकार्यलाई प्रभावकारी बनाउन सुर्खेतमा एउटा हेलिकोप्टर तयारी अवस्थामा रहने व्यवस्था गर्नुहोस् ।’
डोल्पा लगायतका जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रति परिवार १ लाख रुपैयाँ राहत दिने पनि प्रदेश विपद् व्यवस्थापन परिषद्ले निर्णय गरेको छ ।
प्रभावकारी रूपमा विपद् व्यवस्थापनका कार्यमा लाग्न मुख्यमन्त्री शाहीले निर्देशन दिए । कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको सोमवार सम्पन्न बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले फरक फरक प्रदेशमा फरक फरक विशेषताको विपद्को समस्या रहेको बताए । कर्णाली प्रदेशको सापेक्षता अनुसारको विपद् प्रतिकार्य योजनाको आवश्यक रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री शाहीले सरकारको तर्फबाट उद्धार तथा विपद् व्यवस्थापनको कार्यमा कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै त्यसको लागि उद्धार तथा अन्य सामाग्रीको अभाव भएमा तत्काल सरकारलाई जानकारी दिन आग्रह गरे । उद्धारका लागि तिनवटै सुरक्षा निकायको टोलीलाई युनिफाइड कमाण्डमा परिचालन गरिएमा प्रभावकारी हुने बताउँदै मुख्यमन्त्री शाहीले त्यस्तो व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।