
काठमाडौं – क्यानडाको एक जोडीले दक्षिण अफ्रिकामा सिंह मारेर त्यसको लाशपछाडि बस्दै चुम्बन गरेको फोटो खिचेको छ ।
अल्बर्टाको एडमोन्टनका ड्यारेन र क्यारोलीन कार्टरले लेगेलेला सफारीजद्वारा आयोजित शिकारयात्रामा भाग लिएर सिंह मारेका हुन् ।
शिकार गराउने कम्पनीले मृत जनावरको फोटोसँगै शिकारीहरूको फोटो राखेर फेसबूक पेजमा अप्लोड गर्ने गरेको छ ।
चुम्बन गरेको फोटोमुनि उनीहरूले लेखे, ‘कालाहारीको तातो घाममा कठिन कार्य । गजबको कार्य । भयंकर ठूलो सिंह ।’
यो जोडीले ट्याक्सीडर्मी अर्थात् मृत जनावरको छालामा भुस वा कपडा भरेर जीवित जस्तो देखाउने कलाको काम गर्ने गरेका छन् । उनीहरू नियमित रूपमा शिकार गरिरहेका हुन्छन् तर आफूलाई संरक्षणवादी भन्न रुचाउँछन् ।
क्याम्पेन टु ब्यान ट्रफी हन्टिङ (रमाइलोका लागि गरिने शिकारमा प्रतिबन्ध अभियान) का संस्थापक एडुआर्डो गोन्साल्भेसले यस्ता सिंहहरू शिकारीले मारून् भन्नैका लागि हुर्काइने गरेको बताए ।
उनले भने, ‘यो सिंह घरेलु किसिमको थियो र यसलाई घेरिएको ठाउँमा मारिएको हुनुपर्छ । यसलाई घमण्डी पाराको सेल्फी खिचाउनका लागि मात्र पाल्ने गरिएको हो । यो जोडीलाई लाज लाग्नुपर्ने हो । यसलाई क्यामराका अगाडि देखाउने कुनै काम थिएन ।’
लेगेलेला सफारीजले जिराफ, जेब्रा, चितुवा, हात्ती, गैंडा र सिंहको शिकार गराउन पैसा लिने गरेको छ ।
एजेन्सी