
काठमाडौं – भियतनामको उत्तरी भेगमा रहेको दुर्गम हुओई हा गाउँमा एक बालक प्लास्टिकको झोलामा बाँधिएर अनि हिले नदीमा घिसारिँदै विद्यालय जाने गरेका छन् । कक्षकोठामा सुक्खा कपडाका साथ पुग्न उनी प्लास्टिकमा बेरिने गरेका हुन् ।
ती बालक बस्ने गाउँमा प्रत्येक वर्ष पानी पर्दा बाढी आउँछ र विद्यालय जान हिले खोला तर्नुपर्छ ।
त्यसो त खोला तर्न बाँसका डुंगा प्रयोग गरिन्छन् तर बाढी आउँदा खोला बढ्छ र प्लास्टिकको झोला प्रयोग गर्नुपर्ने हुन्छ ।
गाउँका ठूला मानिसले खोलापारिको विद्यालयमा पढ्ने सबै ५० विद्यार्थीलाई प्लास्टिकमा हालेर घिसार्दै लाने गरेका छन् । गाउँलेहरूले शिक्षालाई निकै सम्मान गर्ने गरेका छन् ।
बालबालिकाहरू खोलाको अर्को किनारमा पुगेपछि पनि यात्रा सहज छैन ।
त्यसपछि पनि उनीहरू १५ किलोमिटर जंगलको चिप्लो बाटो हुँदै हिँड्नुपर्छ । त्यो पार गर्न उनीहरूलाई पाँच घन्टा लाग्छ ।
प्लास्टिकका झोलाहरू अव्यावहारिक हुने मात्र नभई अत्यन्तै खतरनाक समेत हुन्छन् र बच्चाबच्ची त्यसमा निसासिने सम्भावना हुन्छ ।
हुओइ हा गाउँका अध्यक्ष भो गियोङले भने, ‘नदीमा एउटा झोलुंगे पुल राज्यले राखे हुन्थ्यो अनि बल्ल मानिसहरूलाई यात्रा गर्न सहज हुन्थ्यो ।’
भियतनामको यातायात मन्त्रालयले स्थानीय अधिकारीहरूसँग मिलेर यस विषयमा कदम चाल्न सडक विभागलाई निर्देशन दिएको छ ।
एजेन्सी