
काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ उनले देशमा विलासी वस्तुहरू एक बदनाम अन्तर्राष्ट्रिय सञ्जालमार्फत भित्र्याउने गरेको खुलासा भएको छ ।
६ देश र दुई महादेश भएर जाने रूटमार्फत किमले पाँच लाख डलर पर्ने कारहरू जहाजबाट ल्याउने गरेका छन् । अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्दै किमले विलासी कार देश भित्र्याएका हुन् ।
सेन्टर फर एड्भान्स्ड डिफेन्स स्टडीजले संकलन गरेको डेटाले उत्तर कोरिया कुन हदसम्म गएर वस्तुहरू ल्याउन बाध्य छ भनी देखाउँछ । बाँकी देशले सजिलै पाउने वस्तु उत्तर कोरियाले निकै गाह्रो गरी पाउँछ ।
अनुसन्धानकर्ताहरूले रोटरड्याममा दुईवटा मेबाख गाडी उत्तरी चीनको दालियान जाने जहाजमा राखिएको पाए ।
समुद्रमा ४१ दिन बिताएपछि दुईवटा कन्टेनर आइपुगे र बन्दरगाहमा खोलिए । ती गाडी तीन महिनासम्म त्यहीँ राखिए ।
अगस्ट २६ मा कन्टेनरहरू फेरि हिँडाइए अनि जापानको ओसाका पुर्याइए । त्यहाँ पनि ती गाडी तीन हप्तासम्म त्यत्तिकै थन्क्याइए ।
ओसाकाबाट दक्षिण कोरियाको बुसान अनि त्यहाँबाट रुसको नाखोद्का पुर्याइयो । त्यहाँबाट तिनीहरूलाई भ्लादिभोस्तोक पुर्याइयो ।
अक्टोबर ७ मा उत्तर कोरियाको एयर कोर्योका तीन जहाज भ्लादिभोस्तोक पुगे । तिनै विमानमा किमा विलासी कारहरू हालेर ल्याइएको बताइएको छ ।
जनवरी ३१ मा उत्तर कोरियाको राजधानी प्योङयाङको सडकमा मर्सिडिज मेबाख गाडी गुडेको देखियो ।
यस्तै किसिमका सञ्जालमार्फत उत्तर कोरियाले ९० देशबाट २१ अर्ब रुपैयाँभन्दा बढीका विलासी वस्तु सन् २०१५ देखि २०१७ सम्म भित्र्याएको अनुसन्धानकर्मीहरूको विश्वास छ ।
सन् २००६ मा ठूलो आणविक परीक्षण गरेपछि उत्तर कोरियलाई सबै विलासी वस्तु बेच्न प्रतिबन्ध लगाइएको छ । सन् २०१३ देखि विलासी कारमाथि विशेष प्रतिबन्ध लगाइएको छ ।
एजेन्सी