
काठमाडौँ - नेपालमा जस्तै प्रत्येक वर्ष भारतको विहारमा पनि बाढीले तहस-नहस पार्ने गर्छ । विहारमा लाखौँको संख्यामा बाढीपीडित छन् । प्रायः सबैको गुनासो सरकरले राहत र उद्दारका लागि केही गरेन भन्ने हुन्छ ।
गत शनिवार विहारको मधुवनीको झन्झारपुरमा कमला नदीमा बनेको बाँध भत्कियो ।
सयौं मानिसहरू गाउँ छाडेर नजिकैको तटबन्धमा शरण लिन पुगे । बाढीका कारण भत्किएको बाँधमाथि बसेर मानिसहरू बाढीले मचाएको तहस-नहस हेरेर बसे । उक्त गाउँमा ४० घर थिए, ३९ घर अहिले बाँकी छैनन् । बाँध भत्किएपछि पानीले कसैको केही पनि बचाएन । सबै बगाएर लग्यो ।
प्रत्येक वर्ष आउने बाढीका लागि विहारका केही मान्छेहरूले नेपाललाई पनि दोषी मानिरहेका छन् । केही मान्छेहरूले नदीहरूलाई मोड्नका लागि बनाइएका तटबन्धहरूलाई पनि दोषी मानिरहेका छन् ।
विहारमा प्रत्येक वर्ष बाढी आउने गर्दछ । तर त्यतिबेला परिस्थिति खतरनाक हुन्छ, जब बाढी आएको बेलामा कुनै बाँध भत्किन्छ ।
विहारका मुख्यमन्त्री नितिश कुमारले विधानसभामा बोल्दै बाढी अविरल वर्षाका कारण आएको भन्दै यसलाई प्राकृतिक विपत्ति भएको बताए ।
विहारमा बाढी आएपछि पीडितहरूमा सरकारी निकायप्रति धेरै आक्रोश देखिन्छ । एक स्थानीय युवाले बीबीसीलाई भने, 'एनडीआरएफको तर्फबाट जम्मा दुई डुंगा पठाइयो । त्यसपछि कोही आएनन् । घरभित्र सबै फसिएको छ । मान्छे आउँछन्, भिडियो बनाएर जान्छन् । उद्दार कसैले गर्दैन र राहत कसैले ल्याउँदैन ।'