काठमाडौं – खाडी क्षेत्रमा अमेरिकी सेनाले एक इरानी ड्रोन खसाएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले होर्मुज जलडमरुमा प्रवेश गरिरहेको एक जहाजका लागि खतरा बनेको इरानी ड्रोनलाई खसाएको हो ।
केही हप्तादेखि शान्तिपूर्ण रहेको खाडी क्षेत्रमा फेरि तनाव बढेको छ ।
असल्ट शिप यूएसएस बक्सरले इरानी ड्रोनविरुद्ध रक्षात्मक एक्सन लिएको किनकि त्यसले शिप र त्यसका कर्मचारीलाई चुनौती दिएको ट्रम्पले बताए । बक्सरको एक हजार यार्डको दायरा आउनेबित्तिकै ड्रोन नष्ट पारिएको ट्रम्पले बताए ।
उनले भने, ‘अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजहरूका विरुद्ध इरानको शत्रुतापूर्ण कारवाहीमा यो पछिल्लो कदम हो । अमेरिकासँग आफ्ना मानिस, सरसामान र हित सुरक्षा गर्ने अधिकार छ ।’
इरानका परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफले पत्रकारहरूसँग कुराकानी गर्दै ड्रोन खसाइएको जानकारी नपाएको बताए ।
यसैबीच इरानले हालै एक विदेशी ट्यांकर कब्जामा लिएको छ । उक्त जहाजमा पनामाको झण्डा रहेको र त्यसका १२ कर्मचारीले इन्धन तस्करी गरेको बताइएको छ ।
एजेन्सी