
सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बहुक्षेत्रीय पोषण परियोजना लागू हुने भएको छ । १८ महिने उक्त परियोजनाले जिल्लाका २ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने सुर्खेतका परियोजना प्रमुख शैलेन्द्र विष्टले जानकारी दिए ।
विष्टका अनुसार कर्णालीमा १५ देखी ४५ वर्षका महिलामा ५१ प्रतिशतलाई रक्तअल्पता हुने गरेको छ भने ५५ प्रतिशत बालबालिका पुड्कोपनाबाट पीडित भएका छन् । कर्णालीको पोषण बढाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
‘कम तौल भएका बालबालिकाको संख्या पनि कर्णालीमा धेरै छ,' उनले भने, ‘यस्तो समस्या भएका बालबालिकाको संख्या ३५ प्रतिशत रहेको छ ।'
डा. भिम आचार्यले परियोजनाले जनप्रतिनिधिलाई पोषणको क्षेत्रमा पनि स्रोत बढाउन पैरवी गर्ने बताए । ‘परियोजनाको मुख्य उदेश्य पोषण बढाउने नै हो,' उनले भने, ‘हरेक व्यक्तिको पोषणमा ध्यान जानसके मात्र स्वस्थ्य समाज निर्माण हुन्छ ।'
जनप्रतिनिधिलाई भौतिक पूर्वाधार मात्रै विकास होइन भन्ने सिकाउन परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा परियोजनाले गरेको उनको भनाइ छ । सिसन र स्याफ्रुन संस्थाले शुरू गरेको परियोजनाले महिला तथा बालबालिकाको विद्यमान कुपोषणलाई न्यूनिकरण गर्न नागरिक समाज र संस्थाहरुको योगदानलाई सक्षम तुल्याउने अपेक्षा गरेको आयोजकले जनाएको छ ।
बहुक्षेत्रीय पोषण कार्ययोजनाको कार्यान्वयन गर्ने, अनुगमन गर्ने, मूल्यांकन गर्ने र गाउँपालिकाको क्षमता अभिवृद्धि गर्ने परियोजनाको मुख्य उदेश्य भएको डा. विकास लामिछानेले जानकारी दिए ।