१३ असार २०८३, शनिबार

नेपाललाई क्षेत्रीय रुपमा स्थापित राष्ट्र बनाउने तर बीआरआईबाट अन्तै मोड्ने अमेरिकी नीति

नेपाललाई क्षेत्रीय रुपमा स्थापित राष्ट्र बनाउने तर बीआरआईबाट अन्तै मोड्ने अमेरिकी नीति

काठमाडौँ - अमेरिकाले नेपाललाई आत्मनिर्भर, स्वतन्त्र र समुत्थानशील साझेदारका रुपमा छिमेक र त्यसभन्दा परका राष्ट्रमा स्थापित गराउनु आजको आवश्यकता भएको बताएको छ ।

अमेरिकी सरकारको प्रायोजनामा विभिन्न समयमा भिन्न प्राज्ञिक कार्यक्रम तथा शैक्षिक एवं अध्ययन भ्रमण गरी स्वदेश फर्केका नेपालीको सङ्गठन 'नेपाल–यूएस एलम्नाइ नेटवर्क (नुसान)' ले अमेरिकी दूतावासको सहयोगमा आज राजधानीमा आयोजना गरेको ‘क्षेत्रीय सञ्जाल विस्तार’ विषयको विचार गोष्ठीमा नेपाललाई भौगोलिक अवस्थितिको लाभ हुनुपर्ने पनि उसले बताएको छ ।

नेपालका लागि अमेरिकी राजदूत  र्‍याण्डी बेरीले ७३ वर्ष पुरानो अमेरिका–नेपाल कूटनीतिक सम्बन्धलाई नयाँ आयाम दिन सरकारी र जनस्तरजस्ता सम्पर्कका बहुउपाय अवलम्बन गरिएको बताउँदै अमेरिकामा ज्ञान, सीप र विज्ञता हासिल गरी त्यसको उपयोग नेपालमा गर्ने एलम्नाइ सदस्य अमेरिका–नेपाल सम्पर्कका निम्ति महत्वपूर्ण माध्यम भएको बताए ।

उनले तिनै एलम्नाइ सदस्य अमेरिका–नेपाल सम्बन्धलाई अग्रगामी बनाउने भरपर्दो माध्यम भएको र नेपालका नीतिगत एवम् रणनीति पहिचानमा आत्मनिर्भर, स्वतन्त्र एवं समुत्थानशील साझेदारका रुपमा छिमेक र त्यसभन्दा परका राष्ट्रमा नेपालको स्थान मजबुत बनाउन यस्ता कार्यक्रमबाट मद्दत पुग्ने बताए ।

पर्यटन र जलविद्युत्को विकासबाटै नेपालको उन्नयन सहज हुने विचार व्यक्त गर्दै उनले सम्पदा संरक्षणदेखि भौतिक पूर्वाधार निर्माणलगायत विकास–निर्माणका परियोजना कार्यान्वयन गर्न वर्षेनी २० अर्बको हाराहारीमा अनुदान उपलव्ध गराउँदै आएको जानकारी दिए ।

नेपालको दिगो आर्थिक विकासका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गत ऊर्जा तथा यातायात क्षेत्रको विकाससम्बन्धी पञ्चवर्षीय परियोजनाका अमेरिकाले लागि रु ६३ अर्ब उपलब्ध गराएको छ । दक्षिण एशिया नीति अध्ययन केन्द्रका पूर्व कार्यकारी निर्देशक श्रीधर खत्रीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ्’ (बीआरआई) ले सम्पर्क सञ्जाल विस्तारमा जोड दिए पनि त्यो व्यवहारमा अनुवाद नभएको आरोप लगाए ।

उनले सार्कको विकल्प बिमस्टेक हुन नसक्ने बताउँदै सार्कको भविष्य भारत–पाकिस्तान मतभिन्नताको छायामा रहेकाले यो क्षेत्रीय सङ्गठन पनि गतिहीन भएकामा दुःख व्यक्त गरे । बीआरआईलाई ऋणको भार बोकाउने महात्वाकाङ्क्षी परियोजनाका रुपमा धेरै पश्चिमा कूटनीतिकज्ञ र अर्थतन्त्रका जानकारले टिप्पणी गरेका बताए । उनले विश्व अर्थतन्त्रमा नेतृत्वदायी भूमिकामा रहेका चीन र भारतबाट नेपालले अधिकाधिक लाभ लिनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्