
काठमाडौं, १३ चैत –गुठी संस्थानको भक्तपुर शाखा कार्यालयका सहायक प्रशासक छत्र बहादुर पौडेल ५० हजार रुपैयाँ घूस रकमसहित पक्राउ परेका छन् ।
आईतवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयका सूचना अधिकारीसमेत रहेका पौडेललाई नियन्त्रणमा लिएको हो ।
सूर्य विनायकमा रहेको संस्थानको कार्यालयका सहायक प्रशासक पौडेलले गुठीको जग्गा जोत नामसारी गर्ने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घूस रकम माग गर्दै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
पौडेललाई अख्तियारको टोलीले ५० हजार रुपैयाँ घूस लिइरहेको अवस्थामा रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।