
काठमाडौं–सर्वहारा वर्गका लागि राजनीति गरेको भनेर नथाक्ने कम्युनिस्ट नेताहरूले समेत सरकारमा पुगेपछि आर्थिक अनुशासन कायम राख्न नसक्ने गरेको कुरा नेपालमा अब नौलो रहेन ।
अति सामान्य व्यक्तिगत प्रयोजन र विलासितामा समेत मन्त्री तथा नेताहरूले राज्य कोषको दुरूपयोग गर्ने गरेको समाचार बारम्बार आइरहेकै छ ।
त्यसको पछिल्लो उदाहरण बनेकी छन्, वर्तमान सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्याल ।
मन्त्री अर्यालले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग हुने ब्याग समेत राज्य कोषबाट खरिद गरेको प्रमाण लोकान्तरले फेला पारेको छ ।
मन्त्रालयले मन्त्री अर्यालका लागि पाकिस्तानी लेदरको ब्याग टारगेट इन्टरप्राइजेजमार्फत २०७५ साल फागुन १५ गते खरिद गरेको लोकान्तरलाई प्राप्त बिल/भपाईमा देखिन्छ ।

उक्त ब्यागलाई १३ प्रतिशत भ्याट सहितको मूल्य १९ हजार ६ सय ६३ रुपैयाँ परेको छ । भ्याटबाहेक नै १७ हजार ४ सय रुपैयाँ परेकाे देखिन्छ ।
अंकमा हेर्दा सानो रकम भएपनि यो नेता तथा मन्त्रीहरूले व्यक्तिगत प्रयोजनमा समेत राज्य कोषको कसरी दुरूपयोग गर्छन् भन्ने उदाहरण हो ।
मन्त्रीकै लागि भनेर भूमि व्यवस्था मन्त्रालयले सूटकेस र ब्रिफकेस समेत एक–एक थान खरिद गरेको छ ।
२०७५ सालको मंसिर २३ गते खरिद गरिएको सूटकेसको मूल्य ४६ हजार ८ सय ९५ र ब्रिफकेसको मूल्य १८ हजार ६ सय ४५ रुपैयाँ (भ्याटसहित) परेको देखिन्छ ।

न्यू हिमालयन इन्टरप्राइजेज मार्फत खरिद गरिएका सुटकेस र ब्रिफकेस भने मन्त्रीको विदेश भ्रमणमा प्रयोग भएको एक कर्मचारीले बताए ।
‘सुटकेस र ब्रिफकेस मन्त्रीज्यू विदेश भ्रमण जाने क्रममा खरिद गरिएको हो,’ मन्त्रालयको स्टोर शाखाका अधिकृत रामबहादुर केसीले लोकान्तरसँग भने ।